दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन सकेको छैन’

प्रकाशित मिति:

सुर्खेत, फागुन ७। देशमा लोकतान्त्रिक व्यवस्था सुरु भएको लामो समय भईसक्दा पनि लोकतन्त्रका लागि लडेकै दलभित्र आन्तरिक लोकतन्त्र कार्यान्वयन हुन नसकेको नेताहरुले बताएका छन्। कर्णाली उत्सवको ‘लोकतन्त्रः दलभित्र, देशभित्र’ सत्रमा वक्ताका रुपमा सहभागी नेताहरुले दलका युवा नेताहरुलाई आन्तरिक लोकतन्त्र व्यवस्थापन गर्ने चुनौती रहेको बताए। प्रतिनिधि सभा सदस्य हृदयराम थानीले लोकतान्त्रिक मान्यता अनुसार राखिएको समानुपातिक व्यवस्थाको उपयोग गर्नेक्रममै दलहरुले आफन्तलाई ठाउँ दिन खोजेर सिण्डिकेट लगाएको बताए। ‘संसदमा दलका प्रतिनिधि जनताबाट अनुमोदित भएजस्तै नेताहरु कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ, कतिपय दलहरु अहिले यही लोकतान्त्रिक पद्धतिमा जान सकेका छैनन्,’प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले भने।

दलभित्र लोकतान्त्रि पद्धद्धि पूर्ण रुपमा अबलम्बन गर्न सकिए दलहरू पनि बलियो बन्ने उनले बताए। मुलुकका हरेक शक्तिहरु जनताको नियन्त्रणमा छ भन्ने आभास जनतालाई गराएमा मात्र लोकतन्त्रको पूर्ण कार्यान्वयन भएको महसुश जनताले गर्न सक्ने उनले बताए।माओवादी केन्द्रका बागमती अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले दलहरू आन्तरिक रूपमा लोकतत्रिक प्रणाली अपनाउन चुकेको बताए। यसले युवा पुस्ताका नेतामाथि आन्तरिक लोकतन्त्रलाई व्यवस्थित गरेर कसरी लैजाने भन्ने चुनौति सिर्जना भएको उनले बताए।आगामी दिनमा दलभित्र लोकतान्त्रिक प्रणाली अबलम्बन गर्ने कुरामा युवा पुस्ताका नेताहरु प्रतिबद्ध रहेको सहयात्रीले बताए। लोकतन्त्रिक पद्धति अबलम्बन गराउन सकिने कानुनहरु पूर्ण कार्यान्वयनमा लैजान नसक्दा जनताले लोकतन्त्रको आभास गर्न नसकेको उनीहरूको बुझाई छ।

‘लोकतन्त्रका लागि पटकपटक लडाई लड्यौं, तर पनि लोकतन्त्रलाई सही बाटोमा लिन किन सकिएन भन्ने प्रश्न कायमै छ, गणतन्त्रपछि भ्रष्टचारको लय झन् बढेको छ,’ प्रतिनिधि सभा सदस्य थानीले भने, ‘हामी दलहरु पनि सुध्रिनुपर्ने छ, दलहरु सुध्रिएर अघि बढे लोकतन्त्रको पूर्ण कार्यान्वयन हुन्छ।’उनले राज्य सञ्चालनमा पुगेका दलहरुका कतिपय गतिविधिले पनि आम जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको उनले बताए। ऐन कानुनबाट नियमन गर्नुपर्ने सामाजिक सञ्जाल टिकटक बन्द गरिन्छ, यसमा लोकतन्त्र कसरी प्रत्याभूत गर्नेरु’ उनले प्रश्न गरे।लोकतन्त्रको खम्बाका रूपमा रहेका दलहरु जति मजबुत र लोकतान्त्रिक भए त्यति नै मुलकको लोकतान्त्रिक संस्कार प्रवद्र्धन हुने प्रतिनिधि सभा सदस्य बर्तौलाले बताए। दलहरुले निर्माण गर्ने बिचार उच्च लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित हुनुपर्ने उनले बताए।

‘हामी दलहरुले आफूलाई सही ढंगबाट अघि बढाउनुपर्छ, हामी चुनाव जित्नमा मात्र केन्द्रित हुन्छौं, जुन लोकतन्त्रको मान्यता होईन,’ उनले भने, ‘लोकतन्त्रको मान्यता भनेको हार स्वीकार गर्न सक्नु हो, यसको मतलब हामी दलहरु नै लोकतान्त्रिक भएनौं।’ बागमती प्रदेश सभा सदस्य सहयात्रीले लोकतन्त्र सुरुआती चरणमा रहेको बताए। यसलाई आगामी दिनमा कसरी बलियो बनाएर लैजाने भन्ने दलहरुको हातमा रहेको उनले बताए। कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले लोकतन्त्रका लागि दलहरुले लोकतन्त्रका लागि महत्वपूर्ण संघर्ष गरेपनि नियमकानुन कार्यान्वयन गर्न नसक्नुले जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको बताइन्। दलहरुले जनतालाई सार्वभौम हुन् र हामी सार्वभौम जनताका प्रतिनिधि हौं भन्ने विश्वास गर्न नसकेकाले पनि नागरिक लोकतन्त्रप्रति निराश देखिएको उनले बताईन्।