चाडपर्वका बेला खचाखच हुने भारतीय बजार यस वर्ष सुनसान

प्रकाशित मिति:

विगतका वर्षहरुमा दशै र तिहारका बेला नेपाली उपभोक्ताले खचाखच भरिने सिमावर्ती बजार सुनौली यस पटक भने सुनसान जस्तै बनेको छ । नेपाली उपभोक्ताको भरमा चलेको सुनौली बजार प्रयाप्त मात्रामा नेपाली उपभोक्ता नगए पछि सुनौलीका व्यवसायी निराश देखिएका छन् । उनीहरुले नेपाल सरकारले सुनौलीबाट चिनी लैजान नदिए पछि नेपाली उपभोक्ता अन्य सामान किन्नका लागि पनि नआउने गरेको बताए ।
उनीहरुले सरकारले चिनीमा रोक लगाएकै कारण सुनौलीको व्यापारमा ७० प्रतिशत बढी गिरावट आएको बताए । सुनौली जाने नेपाली उपभोक्ताहरुको संख्यामा कमि आएका कारण किराना पसल निकै सुनसान भएका छन् भने कपडा पसलमा पनि विगतको भन्दा भिडभाड घटेको छ ।
सिमावर्ती बजार सुनौलीमा नेपालीहरु चिनी, चियापत्ती, मरमसला देखि भान्सा अन्य सामान सहित लत्ताकपडा खरीदका लागि जाने गर्दछन् । लत्ता कपडा खरीदका लागि रुपन्देहीको बुटवलबाट सुनौलीमा पुगेका उपभोक्ता नेपालमा भन्दा सस्तो पाइने भएकाले आफुहरु सुनौली आएको बताए । नेपाल भन्सार एजेण्ट महासंघका केन्द्रीय अध्यक्ष डा।शान्त कुमार शर्माले पछिल्लो केही महिना देखि भारतीय बजारको तुलनामा नेपाली बजार नै चल्ने गरेको बताए । उनले सरकारले चिनीको आयातमा रोक लगाउँदा थलिएको सुनौली बजार नेपाली बजारमा सही मुल्यमा गुणस्तरीय सामान दिन सके सुनौली अब कहिल्यै उठ्न नसक्ने बताए ।
उनले नेपाली व्यापारीले उपभोक्तालाई आर्कषित गर्नुपर्ने, नेपाली उपभोक्तालाई नेपाली उत्पादन बारे जागरुक बनाउनुपर्ने लगायतका काम गर्न सके नेपाली उपभोक्ता भारतीय बजार नजाने दावी गरे ।