काठमाडौं । उपयोगविहीन पुराना कागज रिसाइकल गर्न उपलब्ध गराएको भन्दै जनरल पेपर तथा पेपर प्रडक्टले एनएमबि बैंकलाई सम्मान गरेको छ । २२ वर्षदेखि कागज रिसाइकल गर्दै आएको ललितपुरको धापाखेलस्थित जनरल पेपर तथा पेपर प्रडक्टले एक कार्यक्रमबीच बैंकलाई सम्मान गरेको हो । सम्मानपत्र प्रदान गर्दै उद्योगका निर्देशक दिव्यचन्द्र आचार्यले सो बैंकले विभिन्न कारोबार गर्ने सन्दर्भमा प्रयोग भई पुराना भएका सबैखाले कागजपत्र रीतपूर्वक रिसाइकल गर्न उपलब्ध गराएर वातावरण संरक्षणमा योगदान पु¥याएको बताए । उपत्यकाभित्र रहेका अन्य बैंकहरूलाई पनि उपयोगविहीन पुराना कागज उपलब्ध गराई वातावरण संरक्षणमा योगदान दिन उनले आग्रह गरे ।
आचार्यका अनुसार एनएमबि बैंकले विगत ५ वर्षदेखि लगातार कागज उपलब्ध गराउँदै आएको छ । बैंकले यसपटक भने १७ टन कागज उपलब्ध गराएको छ । यसबाट वातावरणीय हिसाबले करिब ४०८ ओटा वयस्क रूख जोगाउन सहयोग पुगेको विश्वास उनले व्यक्त गरे । कार्यक्रममा एनएमबि बैंकको स्ट्रेजिक सोर्सिङ विभागका प्रमुख सन्जु श्रेष्ठले प्रत्येक बैंकले सबैखाले कागज कम्तीमा ५ वर्षसम्म सुरक्षित राख्नुपर्ने प्रावधान भएको र त्यो समय बितेपछि ती सबै पुराना कागजलाई रीतपूर्वक धुल्याउनुपर्ने अवस्थामा उद्योगलाई सुरक्षित तवरले रिसाइक्लिड गराउन सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । पुराना कागजलाई रिसाइकल गर्नु नै सबैभन्दा उत्तम विकल्प भएको र काठमाडौं उपत्यकाभित्रै यो क्षमताको कागज कारखाना भएकाले पनि बैंकका प्रतिनिधिको प्रत्यक्ष निगरानीमा कागजलाई पानीमा गलाएर रिसाइकल गर्न अग्रसर भएको उनले बताए ।












