काठमाडौं : नेप्से सूचकले ३ हजार विन्दु पार गर्दै अल टाइम हाइ रेकर्ड बनाएको छ । सोमबार क्लोजिङ इन्डेक्स ३०२५.८३ अंकमा आइपुगेको हो । यो नेपाली पुँजी बजारको इतिहासमै उच्च विन्दु हो । नेप्से सूचक यस दिन ४२.७२ अंकले बढेको हो । यसरी बढेको बजारमा १८ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन भन्दा केही कम भए पनि समग्रमा यो कारोबार रकम पनि निकै राम्रो हो । साथै, सोमबार वाणिज्य बैंकहरुको मूल्यमा पनि चमक आएको छ ।
लामो समयदेखि सुस्त रहेको वाणिज्य बैंक समूहमा विस्तारै लगानीकर्ताको आकर्षण देखिन थालेको हो । सोमबार अधिकांश वाणिज्य बैंकको सेयर भाउ बढेको छ । मूल्य सामान्य हिसाबले मात्र बढेको भए पनि यस समूहका कम्पनीहरुको खरिदबिक्री कित्ता राम्रो छ । यतिबेला औसतमा सबैभन्दा सस्तो भाउ वाणिज्य बैंकहरुकै रहेको देखिन्छ । सबल वित्तीय सूचक, सक्षम नियमन भएको क्षेत्र भए पनि वाणिज्य बैंकहरुको बजार भाउ भने निकै तल छ । अहिले सबैभन्दा सुरक्षित लगानीको क्षेत्र पनि बैंक नै मानिएको छ । सोही विश्लेषणका आधारमा आम लगानीकर्ताहरु विस्तारै बैंकतिर आकर्षित हुने अनुमान गरिएको छ । अरु समूहहरुमा भने सोमबार मिश्रित प्रभाव देखिएको छ ।
अहिले हाम्रो सेयर बजारमा बुल रन चलिरहेको छ । यस्तो बेला सेयर कारोबार रकम र सूचक क्रमशः विस्तार हुनुलाई अस्वभाविक मान्न सकिन्न् । तर आम लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सक्नुपर्छ । कम्पनीको सञ्चालक, व्यवस्थापन, विगतको कमाई, लाभांश वितरण क्षमता, भविष्यको योजना, व्यवसाय विस्तारको सम्भावना, आफ्नो जोखिम बहन क्षमता लगायतका पक्षमा ख्याल गर्दै अघि बढ्न जरुरी हुन्छ ।
बुल बजारमा कमजोर वित्तीय सूचक भएका कम्पनीहरु पनि सँगसँगै बढिरहेका हुन्छन् । तर लगानीकर्ता आफैंले सबल र कमजोर कम्पनी छुट्याउन सक्नुपर्छ । सस्तो ब्याजदर, बैंकमा सहज तरलता अनि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दा नेप्सेले नयाँ–नयाँ उचाईहरु बनाउन सकेको हो । २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १ लाख ७५ हजार ४११ वटा कारोबार भएको छ । ६२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा अपि पावर र तेस्रोमा हिमालयन डिष्टिलरी रहेका छन् । १ दर्जन कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।












