विद्युत आपूर्तिलाई नियमित बनाउन माग गर्दै बुटवल उद्योग बाणिज्य संघको ज्ञापन

प्रकाशित मिति:

बुटवल, १४ साउन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले विद्युत आपूर्तिलाई नियमित बनाउन माग गर्दै नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । केही समयदेखि बुटवल क्षेत्रमा विद्युतको आपूति अनियमित भएको बताउँदै संघको टोलीले लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विद्युत आपूर्ति अनियमित हुँदा उद्योग व्यबसायमा र ग्राहस्थ उपभोक्तामा पनि कठिनाई उत्पन्न भएको बताउनु भयो ।ज्ञापन पत्रमा एकातिर विद्युत उत्पादन क्षमतामा बृद्धि भई विद्युतमा आत्मनिरभरता तर्फ अगाडि बढेको समाचार आएका छन् भने अर्कोतर्फ त्यसको ठिक विपरित आपूर्ति दिनानुदिन अनियमित भएको उल्लेख गरिएको छ । त्यस्तै पटक–पटक विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगको मेसिनरी लगायत उत्पादन प्रोसेसमा रहेको कच्चामाल समेत नोक्सानी हुँदा उत्पादन लागत बढ्न जाने भएकोले विद्युत वितरण प्रणालीलाई सवलीकरण गर्न र भार व्यबस्थापनको लागि यथासिघ्र पहल गर्न अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रादेशिक प्रमुख ठाकुरले योगिकुटी ग्रिडमा रहेका तीन वटा ट्रान्सफर्मर मध्ये एउटा जलेका कारण त्यसले ५÷७ दिन यता समस्या आएको बताउनु भयो । एकातिर गर्मिमा लोड बढेको र अर्कोतिर चलिरहेको ट्रान्सफर्मर बिग्रिदा बुटवल, भैरहवा, नयामिल र अमुवा फिडरमा समस्या भएको बताउँदै उहाँले त्यसको व्यबस्थापनको काम भईरहेकाले ८÷१० दिन भित्रमा समस्याको समाधान हुने बताउनु भयो ।