बुटवल उद्योग बाणिज्य संघ रुपन्देही अन्तरगत गठित मोटर बस्तुगत समितिले अनाथ आश्रममा खाद्यान्न सहित नगद सहयोग गरेको छ । समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा चामल, दाल, तेल, आलु लगायतका खाद्यान्न सहित नगद ५ हजार रुपैंया सहयोग गरेको हो । आश्रममा आयोजित कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, मोटर बस्तुगत समितिका सभापति लक्ष्मण ज्ञवाली, कार्यक्रम संयोजक भोला सिंह कबिरले आश्रमका अध्यक्ष डोरबहादुर रामदामलाई उक्त खाद्यान्न सहित नगद हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा संघका अध्यक्ष कसजूले संघ अन्तरगत गठित बस्तुगत समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संघमा २९ वटा बस्तुगत समिति रहेको र सबै बस्तुगत समितिले केही न केही सामाजिक काम गरिरहेको बताउँदै आवश्यक ठाउँमा संघबाट पनि सहयोग भईरहेको जानकारी गराउनु भयो । मोटर बस्तुगत समितिका सभापति ज्ञवालीले विपन्न तथा अपाङ्गता भएकाहरुलाई केही राहत पुगोस भरेर थोरै भएपनि जति सकिन्छ सहयोग गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
खाद्यान्न तथा नगद ग्रहण गर्दै आश्रमका अध्यक्ष रामदामले आश्रममा परिवार बिहिन विपन्न व्यक्तिहरुले आश्रय लिईरहेको बताउनु भयो । यस्तै सहयोगी हातहरुबाट उनीहरुको दैनिक गुजारा चलाईरहेको र अर्थोपार्जनको खोजी गरिएको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्यहरु प्रतिक पोखरेल, संजय कलवार जयसवाल लगायत मोटर बस्तुगत समितिका पदाधिकारी सदस्यहरु सहभागि उक्त कार्यक्रममा संयोजक भोला सिंह, विष्णु श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।
बुटवल उवासंघमा सूनचाँदी बस्तुगत समिति गठन
बुटवल उद्योग बाणिज्य संघमा सुनचाँदी बस्तुगत समिति गठन गरिएको छ । संघका विषयगत व्यबसायीहरुको भेलाले हर्षबहादुर विकको सभापतित्वमा सुनचाँदी बस्तुगत समिति गठन गरिएको हो । समितिको उपसभापतिमा गोकुल विश्वकर्मा, सचिवमा रमेश (दलमान) गहतराज, कोषाध्यक्षमा शेरबहादुर गहतराज र सहसचिवमा बुद्धबहादुर सुनारलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा किशोर कुमार बिक, दलबहादुर बिक, खड्गबहादुर खड्का (बिक), रामलाल बिक र हिरा गहतराजलाई चयन गरिएको छ ।
कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिक हकहितको लागि सम्बन्धित व्यबसायिका समस्या उठान गर्न बस्तुगत समितिलाई आग्रह गर्दै समाधानको लागि संघले पहल गर्ने बताउनु भयो । बिशेष गरेर सुनचाँदी व्यबसायमा सुरक्षाको दृष्टिकोणले चुनौती देखिएको बताउँदै सुरक्षा संवेदनशिलतालाई दृष्गित गरि आफ्ना पसलमा सिसिटिभी अनिवार्य गर्न आग्रह गर्नुभयो । सुनचाँदी बस्तुगत समितिका समन्वयकर्ता कार्यसमिति सदस्य संजय कलवार जयसवालको संयोजनमा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, जमुना पौडेल, मीना प्रधान लगायतको सहभागिता रहेको थियो ।












