बुटवल,१३ असोज । नेपालमा उद्योग ब्यवसायको विस्तार भएपनि दक्षजनशक्तिको अभाव रहेकोे एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । सीप सिकेका दक्ष जनशक्तिको अभाव हुँदा भारतबाट कामदार झिकाउँनु पर्ने बाध्यता रहेको सानो तथा घरेलु उद्योगीले बताएका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको चार दिने पेशागत दक्षता विकासको लागि कार्यशालाको बुधबार समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सीप सिकेर दक्ष बन्नको लागि युवाहरुलाई आग्रह गरेका छन ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र पाठकलले उद्योगको लागि आवश्यकता पर्ने दक्षजनशक्ति उत्पादनको लागि महासंघले कार्यशालामा छलफल सञ्चालन गरेको बताए । नेपालमा उद्योग ब्यवसायको विस्तार भएपनि दक्षजनशक्तिको अभाव कायम रहेको हुँदा युवाहरुलाई सीप सिकेर दक्ष बन्नको लागि उनले आग्रह गरे । निर्माण ब्यवसायी महासंघ रुपन्देहीका उपाध्यक्ष नवराज श्रेष्ठले समृद्धि र विकासको लागि दक्षजनशक्तिको आवश्यकता रहेको र यसको लागि सीपको आवश्यकता रहेकोमा जोड दिए । नेपाल घरेलु तथा साना उद्योग रुपन्देहीका अध्यक्ष धु्रव कुमार धितालले उद्योगले दक्षजनशक्तिको अभाव खेप्नु परेको गुनाशो पोखे ।
कार्यक्रममा प्रशिक्षार्थी गिता तिवारी र रोहित श्रेष्ठले सिकाईको दायरा बढाउनको लागि उद्योगमा काम गर्ने मजदुरलाई समय समयमा तालिम दिन आवश्यकता रहेकोमा जोड दिए । महिला उद्यमी शान्ती शर्माले उद्योगमा लगानी बढ्दै जाँदा दक्षजनशक्ती उत्पादनमा पनि जोड दिनु पर्ने बताईन ।सातै प्रदेशका उद्योगमा कार्यरत प्रतिनिधिमुलक मजदुरहरुलाई कार्यशालामा सहभागिता गराएर उद्योगलाई आवश्यक पर्ने जनशक्तिका विषयमा छलफल गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले जानकारी दिए ।












