देश विकासमा सूचना प्रविधिको महत्व र साईवर सुरक्षाको विषयमा बुटवलमा छलफल गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सोमबार संघको सभाहलमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।त्यस अवसरमा नासाका वैज्ञानिक प्राध्यापक डा। रामहरी सुवेदीले देश विकासमा सूचना प्रविधिको महत्व तथा साईवर सुरक्षाको चुनौती र सुरक्षा उपायका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । विकसित देशका उदाहरणहरु प्रस्तुत गर्दै उहाँले देशको विकासमा प्रविधिको प्रयोग र त्यसमा देशका दक्ष जनशक्तिको परिचालनमा समेत जोड दिनुभयो ।
विकशित मुलुकलाई हेर्ने हो भने पनि ती देशले युवा जनशक्तिको सीप र क्षमतालाई आफ्नै देशमा सदुपयोग गरेका कारण अहिले ती मुलुकले विकासको गति लिन सकेको बताउनु भयो । देशको विकासको लागि सरकारले नीतिगत रुपमै व्यबस्था गरेर प्रविधि र सीपयुक्त जनशक्तिलाई लक्षित गरि ‘हाई पेईङ जब्स’ सिर्जना गर्नुपर्ने भनाई राख्नुभयो ।त्यस्तै उहाँले साईवर सुरक्षा सावधानी नअपनाएका कारण नेपाल साईवर सुरक्षामा हाई रिक्स उच्च जोखिम०मा रहेको बताउँदै साईवर सुरक्षामा सजग रहन समेत आग्रह गर्नुभयो । प्रविधिको प्रयोग र साईवर सुरक्षामा नेपालले नीतिगत तहमै तयारी गर्नुपर्ने भन्दै निकट भविश्यमा देखिएको प्रविधिको विकास, त्यसमा आवश्यक जनशक्ति उत्पादन र साईवर सुरक्षामा अहिलेदेखि नै तयारी गर्नुपर्ने उहाँले सुझाव राख्नुभयो । त्यसको लागि सरकार र विशेष गरेर राजनीतिक नेतृत्व नै तयार हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्नुभयो । उहाँले औद्योगिक विकासको लागि अव सरकारले प्रविधिलाई जोड दिनुपर्ने भनाई राख्दै त्यसमा निजी क्षेत्रको तर्फबाट के गर्न सकिन्छ आफूहरु तयार रहेको बताउनु भयोे ।त्यस अवसरमा नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे र बुटवलका पूर्व मेयर पुनाराम पोखरेलले सूचना प्रविधिको विकासले तुलनात्मक रुपमा सहज बनाउँदै लगेको र केही भएन भन्ने भन्दा पनि आगामी दिनमा यसका माध्यमबाट अझै फड्को मार्न सकिन्छ भन्ने आशा र विश्वास दिलाएको भनाई राख्नुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश कानुन मन्त्रालयका सचिव राजेन्द्र थापाले सूचना प्रविधिको प्रयोगको लागि नीतिगत रुपमा केही प्रगति भएपनि त्यसको कार्यान्वयनमा केही व्यवहारिक कठिनाई रहेको बताउनु भयो । कार्यक्रम संघका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।












