२३ पुस,बुटवल । माघे संक्रान्ति तथा माघीको अवसरमा होटल पौवा प्रालिले सांगितिक कार्यक्रमसहित स्वाद उत्सव गर्ने भएको छ ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रालिले स्वाद उत्सवमा मगर,थारु सहित नेपाली परम्परागत खानाका परिकार पस्कने जानकारी दिएको हो ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा पुस मसान्तको सांझ थारु समुदायको परिकारहरुका साथमा विशेष साँस्कृतिक कार्यक्रम गरिने होटेल पौवाका प्रबन्धक निर्देशक विष्णु ज्ञवालीले बताए ।कार्यक्रममा दाङका थारु कलाकारको परम्परागत सांस्कृतिक प्रस्तुतिसहित लोक दोहोरी गायक पशुपति शर्मा र राधिका हमालको प्रस्तुति रहने होटेल पौवाका ब्राण्ड विभागका प्रमुख विष्णु भण्डारीले बताए । यस्तै माघ १ गतेका दिन मगर समुदायको बाहुल्यता रहेको पाल्पाको तानसेन र रुपन्देहीको तिलोत्तमामा रहेका पौवाका शाखाहरुमा मगर परिकारहरु सहित पाहुनालाई स्वागत गरिने उनले बताए ।
स्वाद उत्सवमा विभिन्न जाति र संस्कृतिलाई प्रतिनिधित्व गर्ने २० प्रकारका नेपाली रैथाने खानालाई मेनुमा समावेश गरिएको भण्डारीले बताए । माघ १ गतेकै अवसरमा रुपन्देहीको भैरहवा, कपिलवस्तुको गोरुसिङ्गे, दाङको घोराही र लमही, कैलालीको धनगढी, कर्णालीको जुम्ला र गुल्मीको रेसुङ्गामा स्वाद उत्सव कार्यक्रम राखिएको छ । पौवाले नेपाली खानालाई प्रबद्र्धन गर्दै अन्तराष्ट्रियकरण गर्न लागिपरेको भण्डारीले बताए । अहिलेसम्म ५० करोड रुपैयाभन्दा बढि लगानी भएको पौवाले स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका ४ जिल्ला, सुदुर पश्चिमको धनगढी र कर्णाली प्रदेशको जुम्लामा गरी १० वटा शाखा संचालन गरेको र २ वटा बिस्तारको चरणमा रहेको जनाएको छ । पौवाले मिसन हन्ड्रेड कार्यक्रम अन्तर्गत शाखा बिस्तार गर्दै लैजाने जनाएको छ ।












