राष्ट्रिय वाणिज्य बैंक ५७ वर्षमा प्रवेश

प्रकाशित मिति:

१० माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ५७ औं वर्षमा प्रवेश गरेको छ । देशकै दोस्रो वाणिज्य बैंकको रुपमा २०२२ साल माघ १० गते यो बैंक स्थापना भएको थियो ।त्यतिबेला नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक २०६३ वैशाख ६ गतेदेखि भने पब्लिक लिमिटेड कम्पनीको रुपमा सन्चालन हुँदै आएको छ ।नेपाल सरकारको एक करोड अधिकृत सेयर पुँजी तथा २५ लाख चुक्ता सेयर पुँजी लगानीमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक लामो अवधिसम्म पूर्ण सरकारी स्वामित्वमा सन्चालन रहँदै आएको थियो । २०७५ वैशाख १८ गते एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएपछि बैंकमा नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारण सेयरधनीको ०.०३ प्रतिशत सेयर स्वामित्व कायम छ ।

‘तपाईंको आफ्नै बैंक’ भन्ने मूल नारा बोकेको राष्ट्रिय वाणिज्य बैंकको चुक्ता सेयर पुँजी ११ अर्ब ९४ करोड ३ लाख ५९ हजार ९८ रहेको छ । साथै बैंकले तयार गरेको पुँजी वृद्धि योजना २०७८ अनुरुप नेपाल सरकारबाट सेयर लगानी बापत थप २ अर्ब प्राप्त भई चुक्ता पुँजी कायम गर्ने प्रक्रिया सुरु गरिएको छ । सेयरधनी कोषमा २८ अर्ब ८७ करोड मौजदात रहेको बैंकले जनाएको छ ।यस बैंकले सर्वसाधारण तथा संस्थागत गरी ३४ लाख बढी निक्षेपकर्ताहरुबाट २०७८ पुस मसान्तसम्ममा २ खर्ब ४५ अर्ब निक्षेप परिचालन गरेको छ । साथै २०७८ पुस मसान्तसम्ममा २ खर्ब १४ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । २०७७/०७८ मा यसको निष्कृय कर्जा अनुपात ३.२३ प्रतिशत छ ।यस बैंकले गत आर्थिक वर्ष २०७/०७८ मा ३ अर्ब ४२ करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेको थियो । मुनाफाबाट सेयर धनीहरुलाई सोही आर्थिक वर्षमा ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी ३३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसैबीच राष्ट्रिय वाणिज्य बैंक ५७ वर्षमा प्रवेश गरेको अवसरमा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको समग्र भूमिकालाई थप प्रभावकारी बनाउँदै प्रगति उन्मुख कदमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।राष्ट्रिय वाणिज्य बैंकलाई प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, गर्भनर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति अध्यक्ष डा। बलराम पाठकले शुभकामना व्यक्त गरेका छन् ।