संसदबाट पारित भएको एमसिसी कार्यान्वयनमा जाँदा मुलुकको आर्थिक प्रगति हुन्छ : गृहमन्त्री खाँण

प्रकाशित मिति:

भैरहवा, फागुन २१ गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित भएको एमसिसी कार्यान्वयनमा जाँदा मुलुकको आर्थिक प्रगति हुने बताए।सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६३औं वार्षिक साधारणसभाको आज शनिबार उद्घाटन गर्दै उनले एमसिसी अनुमोदन भइसकेकाले कोरोनाका कारण लामो समयसम्म कोभिड–१९ को प्रकोपले असर पारेको मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। ‘एमसीसी पास नभएको भए नेपालको आर्थिक क्षेत्रमा नराम्रो प्रभाव पर्थ्यो,’ उनले भने।

एमसिसी परियोजना नेपालको जलविद्युत क्षेत्रका लागि भएकाले त्यसबाट नेपालको विद्युत्को सदुपयोगसँगै रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि मद्दत पुग्ने उनले बताए। देशको समृद्धि र विकास गर्ने योजनाले राष्ट्रलाई कमजोर बनाउँछ भन्नु गलत भएको उनको भनाइ थियो।एमसिसी संसद्‌मा टेबल गरिएपछि पारित गर्ने मूल अभिभारा कांग्रेसलाई आएको र गठबन्धन सरकार पनि बचाउने राजनीतिक जिम्मेवारीबीच त्यसलाई पास गरिएको स्मरण उनले गरे। उनले भने ।

कांग्रेस सरकारमा वा प्रतिपक्षमा जहाँ भए पनि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनले बताए। सरकारले निजी क्षेत्रलाई अघि बढ्न प्रोत्साहन गरिरहेको उनको भनाइ थियो। उनले गौतमबुद्ध विमानस्थलको हवाई रुट लिन सरकार लागि परेको बताए। उनले विमानस्थलमा आवश्यक सुरक्षा पोस्टलगायत संरचना छिटो बनाइने बताए। उनले पर्यटन मन्त्रालयले आउने साता परीक्षण उडान गर्ने गरी काम गरिरहेको बताए।