काठमाडौं–पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तिलक रावलसहित ३ जना विरुद्ध आज विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ। नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँ नोटको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरी गुणस्तरहीन नोट छपाई गरेको अभियोगसहित रावल विरुद्ध मुद्दा दायर गरिएको हो। अख्तियारले पूर्व गभर्नर रावलसहित तत्कालीन नोट विभाग प्रमूख उपेन्द्र केसरी पौड्याल, मे फ्लावर एजेन्टका प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्ध जनही ९१ लाख ९ हजार ८९९ रुपैयाँ विगोदाबी सहित मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको र गुणस्तरहीन नोट छपाई भएको उजुरी आयोगमा परेको थियो।
उजुरीउपर अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाई हस्तान्तरण गर्न लगाउने गरेको पाइएको आयोगले जनाएको छ। त्यस्तै गरी नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बीच निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागि मिडियाकर्मीलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने, नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने गरेको फेला परेको दाबी अख्तियारको छ।
बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अष्ट्रेलियन डलर ६८ बाट ४ डलर बढाउन लगाई बोलपत्र पेश गर्न लगाएको समेत अख्तियारले पाएको छ। सोही बमोजिम बोलपत्र र सम्झौता गरी नेपाल राष्ट्र बैंकका एव् नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याएर आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको तथ्य स–प्रमाण पुष्टि भएको दाबी अख्तियारको छ।












