काठमाडौं, चैत २० : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस गएका छन्। प्रधानमन्त्री देउवा केहीबेर अगाडि बनारस पुगेका हुन्। उनलाई विमानस्थलमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए। हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र मानिने बनारसमा प्रधानमन्त्री देउवाले पूजापाठ गर्ने कार्यक्रम छ। उत्तर प्रदेशमा पर्ने बनारसलाई नेपाली हिन्दूले पनि पवित्र स्थलका रुपमा लिन्छन्। देउवाले त्यहाँका विभिन्न धार्मिक स्थलहरूको दर्शन गर्नेछन्।
साथै प्रधानमन्त्री देउवाले समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चना गर्नका साथै ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास गर्ने कार्यक्रम छ।त्यसअघि प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय बाह्य मामिला मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए।प्रधानमन्त्री देउवाले अपराह्न ४ बजे वनारसबाट दिल्ली फर्किनेछन्। आजै ४ः१५ बजे दिल्लीबाट काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो।












