नेपाल चेम्बर आफ कमर्शले राष्ट्र बैंकको नीतिले ब्याजदर बढ्दा ऋणीहरु समस्यामा परेको बताएको छ। चेम्बरले बिहीबार विज्ञप्ति जारी गर्दै निश्चित आम्दानीको स्रोत देखाएर ८ देखि १० प्रतिशतसम्म ब्याजमा ऋण लिएका साना ऋणीहरू व्याज एक्कासी १५ प्रतिशतसम्म पुग्दा निकै हतोत्साही भएको जनाएको छ।कमर्शले यसतर्फ केन्द्रिय बैंकले ध्यान दिनुपर्ने जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदा सम्बन्धमा धारण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पुँजीलाई कडाइ गर्ने संकेत गरेपछि सबै उद्यमी व्यवसायी निरुत्साहित बनेको बताएको छ। यसले ब्यापार सहजीकरण तथा लगानी मैत्री वातावरणको निर्माणमा चालु पूँजी कर्जा मार्गदर्शनको कार्यान्वयनले ठूलो अवरोध सिर्जना गर्ने चेम्बरको ठहर छ।एक करोड रुपैयाँसम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्र रहने व्यवस्थाले बजारमा लामो समयसम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानको लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले नपुग्ने र वार्षिक कारोबार बिक्रीको ५० प्रतिशतसम्म यो सीमा कायम गरिनु पर्ने चेम्बरले जनाएको छ।
एक करोडभन्दा बढी रकमको चालु पुँजीको कर्जा सीमाको लागि राखिएको व्यवस्थाहरू स्थायी चालु पुँजी र गतिशील चालु सञ्चालन पुँजी निर्धारणमा अत्यन्त संकुचित छन्। यसले उद्योग व्यवसाय सञ्चालन गर्न अत्यन्तै कठिन हुने चेम्बरको ठम्याई छ।एक करोडभन्दा बढीको चालु पुँजी कर्जा सीमाको निर्धारण बैंक तथा वित्तीय संस्थाहरू एवं उद्यमी व्यवसायीहरूबीचको आपसी विश्लेषणबाट आवश्यकता अनुसार तय गरिने प्रावधान राखिनु पर्ने र कर्जा शेयर अनुपात ८० देखि २० प्रतिशत रहनु पर्ने माग चेम्बरको छ। चालु पुँजी मार्गदर्शनको दफा ८।४ मा गरिएको प्रावधान कम्तिमा ७ दिन शुन्य मौज्दातको व्यवस्था अत्यन्त अव्यवहारिक र पालन हुन नसक्ने भएकोले खारेज गरिनु पर्ने चेम्बरले जनाएको छ।












