काठमाडौं – मर्जरमा जाने कम्पनीको सेयर कारोबार अब १५ कार्य दिनमात्र रोक्का हुने भएको छ । यसअघि वर्षौंसम्म सेयर कारोबार रोक्का हुने गरेको भन्दै लगानीकर्ताले सर्वत्र विरोध गरेपछि धितोपत्र बोर्डले त्यसलाई छोट्याउँदै १५ कार्यदिनमा सीमित गर्न लागेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार खुलाउन केन्द्रीय बैंकको अनुमति लिनुपर्ने हुन्थ्यो ।
तर मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले मर्जरमा गएका कम्पनीको सेयर कारोबार रोक्का अब आफूबाट नगर्ने र धितोपत्र बोर्डको नियमअनुसार नै हुने व्यवस्था गरेसँगै बोर्डले यस्तो प्रावधान जारी गर्न लागेको हो । यससँगै आम लगानीकर्ताले अब निकै सहुलियत पाउने भएका छन् । यस व्यवस्थासँगै अब लगानीकर्तालाई आफ्नो सम्पति महिनौं वा कतिपय अवस्थामा वर्षौंसम्म होल्ड गर्नुपर्ने बाध्यता पर्ने छैन ।
धितोपत्र बोर्डले संगठित संस्था एक आपसमा गाम्भे–गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ प्रारम्भिक मस्यौदा तयार पारेको छ । यही मस्यौदामा मर्जमा जाने कम्पनीको सेयर कारोबार बढीमा १५ कार्य दिनमात्र रोक्का गरिने व्यवस्था गरेको छ । यद्यपि, यो मस्यौदा मात्र तयार पारिएको बोर्डका सह प्रवक्ता रुपेस केसीले जानकारी दिए । अब सर्वसाधारणको राय सुझाव के कस्तो आउँछ त्यसलाई समेटेर अन्तिम निर्णय हुने उनको भनाई छ । मस्यौदालाई अन्तिमरुप दिएपछि कार्यान्वयनमा ल्याइने धितोपत्र बोर्डको भनाई छ ।












