बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण

प्रकाशित मिति:

बुटवल । बुटवलको मुख्य सडक निर्माणका समस्याबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ । नगरप्रमुख पाण्डेयसहितको टोलीले सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेटेर बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणमा भएको ढिलासुस्ती र लापरबाहीबारे ध्यानाकर्षण गराउनुभएको हो ।

भेटका क्रममा प्रमुख पाण्डेयले सडक निर्माणमा गम्भीर नहुने र पटकपटकको ताकेतापछि पनि लापरबाही गर्ने निर्माण कम्पनीको म्याद थप नगर्न सुझाव दिनुभएको थियो ।बुटवलको सडकको दुराबस्था समाधानका लागि हामीले निरन्तर प्रयत्न गरिरहेकै थियौं,-नगरप्रमुख पाण्डेयले भन्नुभयो-ती प्रयासहरु पछि सडक विभागकै महानिर्देशकलाई भेटेर ध्यानाकर्षण गराउँदा अझै बढी चासो पुग्ने र सडक निर्माणको काम अघि बढ्ने विश्वासका साथ हामीले भेटेर सबै समस्याहरुको बारेमा जानकारी गराउँदै निर्माण कम्पनीको लापरबाहीबारे पनि जानकारी गराएका छौं ।उहाँले समयावधिभित्र काम सम्पन्न नगर्ने निर्माण कम्पनीको म्याद नथप्न र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने उपायको खोजी गर्न सुझाव दिएको बताउनुभयो ।‘महानिर्देशकले हामीलाई सडक निर्माणको काममा गम्भीरतापूर्वक चासो दिने प्रतिबद्धता जनाउनुभएको छ’-नगरप्रमुख पाण्डेयले भन्नुभयो-हामीले सडक निर्माणका क्रममा देखिएका समस्या र समाधानको बारेमा छलफल गर्‍यौं, यसले सडक निर्माणको कामले तीब्रता पाउने आशा देखिएको छ ।’

बुटवल-बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाअन्तरगत निर्माण भइरहेको सडकको बुटवल चौराहादेखि गोलपार्क खण्डको बारेमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा निरन्तर चासो र दबाब दिइदै आएको छ ।आयोजना कार्यालय, सडक डिभिजनमा डेलिगेशन र लगातारको छलफल पश्चात् बुटवल क्षेत्रका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिति समेत बनेको छ ।समितिले साप्ताहिक रुपमा बैठक बसेर कार्यप्रगति तथा समीक्षा गर्दै सडक विस्तारका क्रममा देखिएको समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्दै आएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।खानेपानी, विद्युत कार्यालय र निर्माण कम्पनीसँग समस्या र समाधानको खोजीका लागि भएका छलफलले काममा सहज बनाएको उहाँले बताउनुभयो ।

थप समाचार