कोरियाबाट फर्किएकाले टुरिष्ट गाइडको काम पाउने |

प्रकाशित मिति:

वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपाली कामदारले नेपाल फर्किएपछि ‘टुरिष्ट गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएका कामदारलाई समाजमा पुनस्र्थापना गर्न सघाउने गरी दक्षिण कोरिया सरकारले उनीहरुलाई टुरिष्ट गाइडको काम दिलाउन सघाउने भएको हो ।तीन वर्षअघि सन् २०१५ मा गरिएको सर्वेक्षणले कोरियाबाट फर्किएका कामदारको पहिलो रोजाईमा टुरिष्ट गाइडको काम देखाएपछि कोरियाको मानव संशाधन विभागले यसमा नेपाल सरकारलाई सघाउने भएको हो । आउँदो बुधबार नेपाल र कोरियाबीच सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर गर्न कोरिया मानव संशाधन विकास सेवा केन्द्र (एचआरडी कोरिया) का सभापति किम दोङ्मान नेपाल आउनु हुने भएको छ । केन्द्रले विश्व ओक्टा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपाल, कोरिया साउथ इष्ट पावर कम्पनी र युएम होङगील ह्युमन फाउण्डेसनसँग समन्वय गरी काम उपलब्ध गराउने जनाएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कले सन् २०१७ मा ३४ हजार ३ सय १ जना दक्षिण कोरियाका नागरिक नेपाल घुम्न आएको देखाएको छ । सन् २०१५ मा १८ हजार १ सय १२ आएकोमा हरेक वर्ष सङ्ख्या बढिरहेको र कोरियाबाट फर्किएका कामदारको रुची पनि टुरिष्ट गाइड भएकाले यस्तो सम्झौता गर्न लागिएको एचआरडी कोरियाले जनाएको छ । एचआरडी कोरियाले ४ वर्षभन्दा बढी कोरियामा बसेर त्यहाँको संस्कृति राम्ररी बुझेका र कोरियन भाषा परीक्षा इपीएस तेस्रो श्रेणीभन्दा माथिल्लो श्रेणी ल्याएकाहरुलाई कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपालमा कामका लागि सिफारिस गर्नेछ ।यही सिफारिसका आधारमा रोजगारी दिइने कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेशन एसोसिएसन फर नेपालका अध्यक्ष अमरबहादुर शाहीले बताउनुभयो । यस्तै फर्किएका कामदारलाई नेपालमै रहेका कोरियन कम्पनीहरुमा काम दिलाउन वल्र्ड ओक्टा नेपाल शाखाले मध्यस्थकर्ताको काम गर्ने भएको छ ।कोरिया साउथ इष्ट पावर कम्पनीले फर्किएका कामदारहरुलाई दिगो रोजगारीमा लाग्न सक्ने गरी सघाउने छ । एचआरडी कोरियाले यो सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई पनि अनुरोध गर्ने भएको छ । दक्षिण कोरियाको कम्पनीमा ९ वर्ष ८ महिना काम गरेपछि आ–आफ्नो देश फर्किनुपर्ने व्यवस्था छ ।फर्किएका कामदारका लागि विभिन्न शिक्षा र प्रशिक्षण, स्वेच्छिक स्वदेश फिर्तीबारे जानकारीमुलक कार्यक्रम, स्वदेश फर्किएपछि सफल भएका कामदारलाई कोरियामा निमन्त्रणा गरी प्रेरणादायी भेला, कोरियन कम्पनीहरुसँग बैठक, कामदार र कम्पनीहरुको लागि मध्यस्थकर्ता कार्यक्रम गरिरहेको पनि एचआरडी कोरियाले जनाएको छ ।