काठमाडौं, भदौ ६ – निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जना भन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ। सोमबार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारेको बताएका हुन्। उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचार प्रसारका लागि २५ जना मात्रै जान मिल्ने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए।
निर्वाचनमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिन्ह मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि बताए। सञ्चारकर्मीहरूले निर्वाचनमा उम्मेदवार लिएका राजनीतिक दलको मात्रै चुनाव चिन्ह मतपत्रमा समावेश गर्ने विषयमा गठबन्धन लक्षित देखियो भन्ने प्रश्नको जवाफमा उनले यसरी निर्वाचनमा भाग नलिएको दलको चुनाव चिन्ह राख्नु सैद्धान्तिक र व्यवहारिक रुपमा ठिक नभएको बताए।
उनले भने, ‘ निर्वाचन आचार संहिता बनाएर उल्लंघन गर्ने निर्वाचन आयोग होइन । राजनीतिक दल र उमेम्दवारहरूले नै हो । राजनीतिक दलहरुले आचार संहिता पालना गर्ने जिम्मेवारी लिन निर्वाचन आयुक्तले ध्यानाकर्षण गराउनु भयो । आयोगले निर्वाचन अनुगमनको लागि केन्द्रदेखि जिल्लासम्म गरेको छ । त्यहाँ कारबाही गरेको घटनाहरु धेरै छन् । आयोगले १५० भन्दा बढीलाई कारबाही गरेको छ । कानून अनुसार सचेत गराउनुलाई पनि कारबाही भनिन्छ । पदीय हैसियतमा निर्वाचन प्रचारप्रसारमा जान हुँदैन भनेर मस्यौदामा प्रावधान रहेको छ ।’












