बुद्धिबहादुर थकाली स्मृति प्रतिष्ठान स्थापना गरिने

प्रकाशित मिति:

बुटवल, १५ भदौ । बुटवलको राजनीति, गीत संगीत, शिक्षा र संस्कृतिको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने स्वर्गीय बुद्धिबहादुर थकालीको योगदानलाई चीरस्मरणीय बनाउनको लागि कृतज्ञता संस्कृति र बुद्धिबहादुर थकालीको योगदान विषयक अन्तरक्रिया दैनिक पत्र दैनिकको प्रधान कार्यालय बुटवलमा बुधबार सम्पन्न भयो ।अन्तरक्रिया कार्यक्रममा बुद्धिबहादुर थकालीको योगदानलाई राम्रोसँग जान्ने बुझ्ने सामाजिक व्यक्तित्व होमबहादुर गलामीले कृतज्ञता संस्कृतिको महत्वको विषयमा प्रकाश पार्दै स्वर्गीय बुद्धिबहादुर थकालीको योगदानको विसद् चर्चा गर्नु भयो । बुद्धिजीवी दुर्गाप्रसाद शर्माले कृतज्ञता संस्कृति हाम्रो साँस्कृतिक मूल्य हो, हामीले समाजमा योगदान दिने व्यक्तित्वहरुको पहिचान गर्ने, मर्यादा दिने र स्मरण गर्ने काम गर्नुपर्छ भन्दै बुद्धिबहादुर थकालीको बहुआयामिक व्यक्तित्व र योगदानको चर्चा गर्नु भयो ।

समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले आफू समकालीन नभए पनि बुटवलका नागरिकहरुबीच बुद्धिबहादुर थकालीको बाक्लो स्मरण भएको भन्दै उहाँको विषयमा तत्काल केही गर्नुपर्ने बताउनु भयो । बुटवल मिडिया प्रकाशन प्रालिका व्यवस्थापक मन्जु पौडेलले उहाँका परिवारजनको स्थायी बसोबास रहेको कालिकानगर स्थित पारिवारिक पृष्टभूमिको विषयमा जानकारी दिनु भयो । त्यस्तैगरी कृष्ण रणपालले कृतज्ञता संस्कृतिको स्थापनाले छायामा परेका समाजसेवीहरुलाई बाहिर ल्याएर प्रतिष्ठापित गर्ने कार्य महत्वपूर्ण हुने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रमका सभाध्यक्ष डा. बालकृष्ण चापागाईंको प्रस्तावमा आगामी असौजको स्वाधीन अङ्क स्वर्गीय बुद्धिबहादुर थकाली स्मृति विशेषाङ्कका रुपमा प्रकाशन गरिने जानकारी गराउनु भयो । साथै छलफलमा बुद्धिबहादुर थकाली स्मृति प्रतिष्ठान स्थापनाका लागि आवश्यक गृहकार्य गरी अगाडि बढाउने हेतुले समाजसेवी होमबहादुर गलामीको संयोजकत्वमा डा. बालकृष्ण चापागाई, एकराज पाण्डे, गणेश घिमिरे, दुर्गाप्रसाद शर्मा, मन्जु पौडेल र ऋषि आजादलगायतका सदस्यहरु रहनु भएको तदर्थ समिति गठन गरिएको छ । साथै प्रचार प्रसारको लागि कृष्ण रणपाललाई जिम्मा दिने निर्णय गरियो । कार्यक्रम ऋषि आजादले सञ्चालन गर्नु भएको थियो ।