तोलाकान्त बगाले,वालिङ, १९ भदौ ।स्याङ्जाको वालिङमा असोजको दोस्रो साता ‘लियो मिनी म्याराथुन’ हुने भएको छ । लियो क्लब अफ वालिङ सिटीको आयोजनामा असोज ८ गते वालिङमा म्याराथुन प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।खेलकुदलाई शहर केन्द्रीत मात्र नभई यसको संस्थागत विकासलागि स्थानीय तहको तल्लो तहसम्म पुर्याई नयाँ नयाँ प्रतिभाहरुको खोजी गर्ने, खेलकूदसँगै रचनात्मक कार्यहरुमा युवाहरुलाई आकर्षित गर्दै निरन्तरता दिने लक्ष्यसहित प्रतियोगिताको आयोजना गरिएको लियो क्लब अफ ३२५ एम नेपालका डिष्ट्रिक सेक्रेटरी दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो ।
विशेष गरी ठूला भनिएका शहर केन्द्रीत खेलकुदका गतिविधिहरु हँुदै गर्दा मोफसलमा पनि म्याराथुन आयोजना गरी खेलकुदलाई गाउँ–गाउँ तथा टोल–टोलमा पुर्याउन खोजिएको उहाँले बताउनुभयो ।स्याङ्जाको भीरकोट नगरपालिकाको प्रशासकीय कार्यालयबाट शुरु हुने प्रतियोगिता वालिङ नगरपालिकाको प्रशासकीय कार्यालयसम्म आएर टुङ्गिने छ ।“सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग तथा भित्री सडकहरुको प्रयोग गरी प्रतियोगिता सञ्चालन हुने छ” उहाँले भन्नुभयो, “दुई पालिका जोड्ने गरी तयार पारिएको धावनमार्ग १९.२ किलोमिटर दूरी रहने छ ।”जिल्लाभित्र तथा बाहिरका युवाहरु प्रतियोगिता सहभागी हुने भएकाले ठाउँ ठाउँमा वालिङको पहिचान दिने खालका सांस्कृतिक कार्यक्रमहरुसमेत गरिने छ ।
लियो क्लब अफ वालिङ सिटीले आयोजना गरेको म्याराथुनमा युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिकासहित विभिन्न संघ संस्थाले सहयोग गरेका आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा स्याङ्जासहित गण्डकी प्रदेश र अन्य प्रदेशका गरी तीनसय बढी धावकहरुको सहभागिता रहने आयोजकले दावी गरेको छ ।एकदिनमा सकिने म्याराथुनकालागि कूल रु. पाँच लाख ५४ हजार खर्च र रु. छ लाख ४० हजार आम्दानी हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक हरि रेग्मीले बताउनुभयो । उहाँका अनुसार वचत हुने रु. ८६ हजार रकमले क्लबले सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च गर्ने छ ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने धावकले क्रमश: रु. ३०, २०, १० र ४ हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन् । दशौं स्थानसम्मका धावकहरुलाई पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्नकालागि आयोजकले विभिन्न उपसमिति बनाएर तयारीलाई तीब्र पारेको कार्यक्रम संयोजक रेग्मीले बताउनुभयो ।












