नेकपा एमालेका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त सर्लाहेव्को दुई वटा क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । एमालेभित्र प्रभावशाली मानिएका पन्त सर्लाही क्षेत्र नम्बर ३ का स्थानीय बासिन्दा हुन् । एमालेबाट दुई क्षेत्रमा सिफारिसमा पर्ने भाग्मानी नेता कम छन् । तर उनलाई सर्लाहीकै दुई क्षेत्रबाट उम्मेद्वार सिफारिस भए । सर्लाही-१ र सर्लाही-३ बाट उनी सिफारिस भएपनि निर्वाचन भने एक क्षेत्रबाट मात्र लड्न पाइन्छ ।
एमाले जस्तो नेता नै नेता भएको पार्टीमा पन्तलाई सर्लाही एमालेले दुई क्षेत्रबाट सिफारिस गरेपछि उनी कुन क्षेत्रबाट लड्लान भन्ने चासोको विषय बनेको छ । स्थानीय भएकाले उनी क्षेत्र नम्बर ३ बाट लड्नसक्ने स्थानीय नेताहरूको आंकलन छ । तर क्षेत्र नम्बर १ मा पनि उनको राम्रो पकड भएको स्थानीय बताउँछन् ।जनता र कार्यकर्ताको प्रेसर भने उनलाई दुबै क्षेत्रमा छ । प्रभावशाली नेता भएकाले पनि उनलाई कार्यकर्ताले आफ्नै क्षेत्रबाट पार्न चाहन्छन् ।
उनले भने आफ्नै गृहजिल्ला भएकाले जुन क्षेत्रबाट लडेपनि आफूलाई सहज नै हुने बताउने गरेका छन् । पार्टीले विश्वास गरेर दुई क्षेत्रबाट सिफारिस गरेको छ, मलाई दुबै क्षेत्र सहज नै छ । दुबै क्षेत्र आफ्नै जिल्लामा पर्छन् । मलाई जहाँबाट उठ्दापनि फरक पर्दैन । उनले भने ।कुन क्षेत्रमा चुनाव जित्न सहज होला भन्ने प्रश्नमा उनले पार्टीले जुन क्षेत्रबाट टिकट दिएपनि आफूलाई सहज हुने बताए । दुबै क्षेत्रका जनताले उत्तिकै माया गर्ने भएकाले बढी घटी भन्ने आफूलाई नभएको उनले बताए । क्षेत्र नम्बर १ मा उनीसँगै राजनारायण शाह, मनोज कुमार देवकोटा, मान बहादुर खड्का, बलराम पोखरेल, संविधानसभा सदस्य रन्जना सरकार लगायत सिफारिस भएका छन् भने क्षेत्र नम्बर ३ बाट रेवती पन्त, हरि उप्रेती, बद्री न्यौपाने र भोजराज दाहाल सिफारिस भएका छन् ।












