गत साताको सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से सूचक आज साेमबार पनि ओर्लिएकाे छ । निरन्तर ओरालो लागेको नेप्से सूचक छ कारोबार दिनमा ६४.६१ अंकले घटेको हो । गत साताको आइतबार नेप्से सूचक ६.६८ अंक बढेर १९७७.३० विन्दुमा बन्द भएको थियो । त्यस यता निरन्तर ओरालो लागेको नेप्से सूचक यस दिन पनि १३.५९ अंकले घटेर १९१२.६९ विन्दुमा झरेको हो ।
यस दिन २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर किनबेच भएर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा ८ करोड ४४ लाख रुपैयाँले मात्रै बढी हो ।आइतबार २२१ कम्पनीको ७४ करोड ७२ लाख रुपैयाँ बराबरको २५ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।सोमबार म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ । ओरालो लागेका उपसमूहहरुमध्ये अन्य, हाइड्रोपावर र फाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।
यस दिन २८ कम्पनीको शेयरमूल्य मात्रै बढेको छ । त्यसमध्ये सबै भन्दा धेरै युनाइटेड इडि मार्दी रहेको छ । युनाइटेड इडि मार्दीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ । सबै भन्दा धेरै शेयरमूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । लघुवित्तको शेयर मूल्य ५.८७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन नविल बैंक शीर्ष स्थानमा रहेको छ । नविल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, रिडि पावर कम्पनी, हिमालयन डिस्टीलरी, अपी पावर र नेपाल पुनर्बीमा कम्पनीको २ करोड भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।












