काठमाडौं, असोज १ – अछाममा गएको पहिरो प्रभावितलाई हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइराला बोलाएर घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री खाणले पहिलोका विषयमा अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीसँग टेलिफोनबाट जानकारी दिएका छन्।सो क्रममा गृहमन्त्री खाणले सरकारको प्रमुख दायित्व नागरिकको जीउ धनको रक्षा गर्न भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न पनि निर्देशन दिएका छन्। अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिका पहिरोका कारण ९ जनाको मृत्यु भएको छ भने १० जना अझै वेपत्ता छन् । यस्तै, २० जना घाइते भएको बताइएको छ।












