प्रतिनिधिसभाको अन्तिम बैठक : संसदलाई जनमुखी बनाउन सघाउने सबैप्रति सभामुखद्वारा आभार व्यक्त

प्रकाशित मिति:

काठमाडौं- असोज १ सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठकमा सभामुख सापकोटाले संसदलाई आम नागरिकको विश्वासको धरोहरका रुपमा सधैँ गतिशील बनाउन झक्झक्याइ रहने सबैप्रति पनि धन्यवाद दिए। विभिन्न आरोह अवरोह पार गर्दै, कैयौं विषयलाई निष्कर्षमा पुर्याएर र केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न भएको उनले बताए।

एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवत: विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना भएको उहाले बताए।उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने धारणा पनि राखे। सभामुख सापकोटाले आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष ढंगले सफल बनाउन सबैको योगदान रहने विश्वास व्यक्त गरे।