बुटवलका ५२ जना किसानलाई प्रोत्साहन अनुदान दिने निर्णय

प्रकाशित मिति:

बुटवल । बुटवल उपमहानगरपालिकाले ५२ जना किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो ।बुटवल उपमहानगरका वडा नं. ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा ५२ जना किसानलाई अनुदान दिने निर्णय गरेको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।

ती वडामा खेतीकिसानी गर्ने किसान, फर्म र संस्थाहरुले पेश गरेको माग अनुसार १० हजारदेखि १ लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरेको उहाँले बताउनुभयो ।निर्णयअनुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिशका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिनुभयो ।५२ जना किसान, फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफुल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेका थिए ।