बुटवल, १३ असोज । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएसन (बीआरआई) परियोजना कार्यान्वयन नेपालको विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् । उनले बीआरआईमा सहभागी हुन नेपालले हस्ताक्षर गरेपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै कार्यान्वयन गर्ने दिशामा अघि बढ्न संघीय सरकारको ध्यानाकर्षण गराए ।चीनको ७३ औं राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा गरेको अन्तरक्रियामा प्रदेश प्रमुख शेरचनले चिनियाँ राष्ट्रपतिले अगाडि सारेको आर्थिक विकाससहितको साझेदारीको कार्यक्रम बीआरआई कार्यान्वयन गर्न सके नेपालले पुर्वाधार विकास र आर्थिक समृद्धिमा फड्को मार्न सक्ने बताए ।
‘बीआरआई कार्यान्वयनले नेपालको विकास मात्र हैन,दुई देशबीचको सम्बन्ध अझ जीवन्तर र उचाईमा पुग्छ’–शेरचनले भने । उनले नेपाल एक चीन नीतिमा अटल र प्रतिवद्ध हुनुपर्नेमा जोड दिंदै चीनविरुद्ध नेपालको भूमि कसैलाई प्रयोग हुन दिन नहुने बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले चीनले सयौं विश्व विद्यालय स्थापना गरी उच्च वौद्धिक जनशक्तिलाई संयोजन र व्यवस्थापन गरेर विकास र अर्थतन्त्रमा फड्को मारेकाले चीनबाट नेपालले सिक्नुपर्ने बताए ।
बौद्धिक र दक्ष जनशक्तिको विदेश पलायन हुने परिपाटी नरोकेसम्म देशको दीगो विकास हुन नसक्ने उनले बताए ।
नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले नेपालले चिनिया कम्युनिष्ट पार्टीको कुशल नेतृत्व, चिनिया जनताको अनुशासन र अथक मेहनतलाई नेपाली नेता र जनताले अनुशरण गर्नसक्नुपर्ने बताए । चीनसंगको सम्बन्ध थप उचाईमा पु¥याई चिनिया बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न सके नेपालको पर्यटन विकासले फड्को मार्ने उनले सुझाए । अध्यक्ष सापकोटाले राष्ट्रिय दिवसको अवसरमा चिनिया राष्ट्रपति, चिनिया जनता र चिनिया कम्युनिष्ट पार्टीको राष्ट्रिय कांग्रेसलाई प्रदेश प्रमुखमार्फत शुभकामना दिएका छन् ।
सो अवसरमा साहित्यकारहरु बुंद राना, डा. कपिलदेव लामिछाने,रुद्र ज्ञवाली,समाजका उपाध्यक्ष गोबिन्द रेग्मी महासचिव मनिषकुमार जोशीले चीनसंग द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न संघ,प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । सन् १९४९ अक्टोबर १ का दिन चीनमा बादशाही शासनको अन्त्य भई जनगणतन्त्र स्थापनाको घोषणा गरिएको थियो । सोही दिनको स्मरणमा चीनले साताव्यापी राष्ट्रिय दिवस मजाउंदै आएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको रुपमा मनाइने चीनको राष्ट्रिय दिवसलाई गोल्डेन वीक समेत भनिन्छ ।












