बुटवलका नगर प्रमुख पाण्डेयलाई स्याङ्जामा सम्मान

प्रकाशित मिति:

बुटवल, १७ असोज । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई स्याङ्जाको कालीगण्डकीमा सम्मान गरिएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्बाचित भएपछि पहिलो पटक जन्मस्थल स्याङ्जाको कालिगण्डकी २ कोटाकोट पुग्नु भएका पाण्डेयलाई सोमबार स्थानीयले स्वागत तथा सम्मान गरेका हुन् ।कार्यक्रममा बोल्दै उहाँले बुटवललाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो ।

निर्वाचित भएपछि आफू जन्मस्थलमा आउन चाहेपनि बजेट निर्माण, बुटवलको मुख्य सडक र ज्योतिनगर पहिरो समस्याका कारण जन्मस्थल आउन ढिलो भएको बताउनु भयो । बुटवलको चौराहादेखि गोलपार्क सडक निर्माणको कामको लागि उपमहानगरले सहजिकरण गरेको र सडक निर्माणको काम सम्पन्न हुने तर्फ अगाडि बढेको उहाँले बताउनुभयो ।

बुटवलसँगै आफ्नो जन्मस्थल कालिगण्डकी गाउँपालिकाको विकासमा आफुले पहल गर्ने उहाँले बताउनु भयो ।वडा नं. २ का वडाध्यक्ष खगिसरा गाहाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ववडाध्यक्ष नर बहादुर राना, नेपाली काँगे्रसका वडा सभापति शमसेर राना, समाज कल्याण युवा परिवारका अध्यक्ष लेखराज पाण्डेय लगायतले कार्यक्रममा बोल्नुभएको थियो । कालिगण्डकी गाउँपालिकाले सफल नेतृत्व जन्माउन सफल भएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनुभएको थियो । बुटवलको विकासँगै कालिगण्डकी गाउँपालिकाको विकासमा पनि प्रभावकारी भूमिका खेल्न प्रमुख पाण्डेयलाई स्थानीयबासीले आग्रह गर्नुभएको थियो ।