जसपाका चार मन्त्री बर्खास्त

प्रकाशित मिति:

काठमाडौं, असोज २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका चारजनालाई पदबाट मुक्त गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका ती चार मन्त्रीलाई पद मुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। अब ती चारै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने पनि विज्ञप्तिमा उल्लेख छ।सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मिति २०७८ र ३ र २९ गते गठन भई विभिन्न मितिमा हेरफेर तथा कार्यविभाजन भएको मौजुदा मन्त्रिपरिषद्‌का माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राजेन्द्रप्रसाद श्रेष्ठ, माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री मृगेन्द्रकुमार सिंह यादव, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री मोहम्मद इश्तियाक राई र माननीय वन तथा वातावरण मन्त्री श्री प्रदीप यादवलाई नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्री पदबाट सम्माननीय प्रधानमन्त्रीज्यूले पदमुक्त गरि सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाली आउनुभएको उल्लिखित मन्त्रालयहरूको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरवहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

साथै, राष्ट्रपति भण्डारीले संविधानको धारा ७८ बमोजिम मिति २०७८ चैत २४ गते माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त भएका गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेपालको संविधानको सोही धाराबमोजिम संघीय संसदको सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकाले प्रधानमन्त्रीको सिफारिसमा उनले सम्हाली आएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने पनि विज्ञप्तिमा उल्लेख छ। सत्तारूढ गठबन्धनबाट जसपा बाहिरिएसँगै सो पार्टीबाट सरकारमा रहेका चार मन्त्रीको पद के हुने भन्ने चर्चा व्यापक थियो। जसपाले आफ्ना मन्त्रीहरुलाई सरकारबाट हटाउन नमिल्ने बताउँदै आए पनि आज उनीहरूलाई बर्खास्त गरिएको हो।