बुटवल, २९ असोज । स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा नेपाली साहित्य, संस्कृति एवं पत्रकारिता क्षेत्रमा गहन अन्वेषण गरी उल्लेखनीय योगदान पु¥याएको उच्च मूल्याङ्कन गर्दै वरिष्ठ पत्रकार, अधिवक्ता डा. बालकृष्ण चापागाईं ‘कालीगण्डकी साहित्य कला पुरस्कार –२०७८ ’ बाट शुक्रबार एक भव्य समारोहका बीच स्याङ्जा जिल्लाको सदरमुकाम (पुतलीबजार) मा नगदसहित पुरस्कृत एवं सम्मानित हुनुभएकोे छ ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं. ९ आङ्वाङ सुहारामा जन्म भई हाल बुटवल–४ निवासी डा. चापागाईंले चारदशकदेखि पत्रकारिता, साहित्य, संस्कृति, दर्शन र समसामयिक विषयवस्तु एवं प्राज्ञिक अनुसन्धानमा निरन्तर कलम चलाउँदै आउनु भएको छ ।
डा. चापागाईंका ‘बौद्धदर्शन र सञ्चार’, ‘आम सञ्चार र नेपाली भाषा’, पत्रकारितामा लुम्बिनी नाम गहकिला अनसन्धानात्मक पुस्तकहरु प्रकाशित भएका छन् भने विगत ३३ वर्षदेखि जनसंघर्षको संस्थापक तथा प्रधान सम्पादक तथा दैनिक पत्र राष्ट्रिय दैनिक, स्वाधीन मासिक र अनलाईन संस्करण दैनिकपत्र डटकमको प्रकाशक तथा सम्पादकको रुपमा अविछिन्नरुपमा क्रियाशील हुनुहुन्छ ।
राष्ट्रिय समाचार समिति (रासस) को पूर्व कार्यकारी अध्यक्ष, नेपाल पत्रकार महासंघ रुपन्देहीको दुई कार्यकाल अध्यक्ष, प्रेस चौतारी नेपालको दुई कार्यकाल केन्द्रीय अध्यक्ष, उच्चस्तरीय मिडिया आयोगको सदस्य, कान्ति मा.वि. बुटवलको व्यवस्थापन समितिको अध्यक्ष र मलमला मिडिया प्रा.लि. ‘ रेडियो मलमला’ (सैनामैना) का संस्थापक अध्यक्षलगायत दर्जनौ संघसंस्थामा रही कुशलतापूर्वक जिम्मेवारी बहन गरिसक्नु भएको छ ।
‘बौद्धदर्शन र सञ्चार’ विषयमा विद्यावारिधि (पीएच्डी), नेपालीमा एमए, आम सञ्चार तथा पत्रकारितामा एमए,कानूनमा एलएलबी र प्राकृतिक चिकित्सा तथा योग विज्ञानमा डिप्लोमा समेत गर्नुभएका डा. चापागाईंका अनुसन्धानात्मक गहन लेखहरु स्वदेश तथा विदेशका विभिन्न जर्नलहरुमा प्रकाशित भएका छन् ।सम्मानका अवसरमा मन्तव्य दिदैं डा. चापागाईंले आफ्नो जन्मथलोमा सम्मानित हुन पाएकोमा आयोजक संस्था स्याङजा साहित्य प्रतिष्ठान एवं मूल्याङ्कन समितिप्रति आभार तथा कृतज्ञता व्यक्त गर्नुभएको छ । आफ्नो जन्मभूमिप्रति कृतज्ञ हुँदै आगामी दिनमा केही रचनात्मक कार्यमा योगदान दिने इच्छा व्यक्त गर्नुभएको छ ।










