मंसिर ४ को निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा हुन्छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति:

काठमाडौं, कात्तिक ९ – प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष र भयरहित हुने बताएका छन्।नेपाल संवत् ११४३ का अवसरमा बुधबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाइसकेको बताए।

प्रधानमन्त्री देउवाले नागरिकप्रति प्रतिबद्ध भइ काम गर्न सके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताए। उनले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताए।उनले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताए। उनले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्नुपर्नेमा जोड दिए।

उनले व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात गरी अघि बढ्न सक्नुपर्ने बताए।सो अवसरमा उनले भक्तपुरको मध्यपुर थिमिस्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण पनि गरेका थिए। राष्ट्रिय विभूति साख्वाको योगदानको स्मरण गर्दै प्रधानमन्त्री देउवाले हरेक नेपालीले उनको जीवनीबाट सिकेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।