प्रकाश न्यौपाने
माघ १७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट –१६ मा सूर्यनगर गोल्डकप यहि माघ २५ गतेदेखि फाल्गुन ७ गते सम्म हुने भएको छ । यो प्रतियोगिता जिल्ला कै सर्वाधिक ठूलो र लुम्बिनी प्रदेशकै दोस्रो ठुलो पुरस्कार राशीको फूटवल प्रतियोगिता हो ।
पत्रकार सम्मेलनमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सुर्य नगर गोल्ड कपले बर्दघाट नगरलाई खेल क्षेत्र बाट पनि पहिचान बनाएको बताउनु भयो । उहाका अनुसार नगरले दाउन्ने क्षेत्र खेलकुद हबका रुपमा विकास गर्ने योजना रहेको छ । वडा नम्बर १४ , १५ र १६ लाई खेलकुद हब बनाइने उहाले बताउनु भयो ।
क्लवका पूर्व अध्यक्ष एवं वडा नम्बर १६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक समेत रहेका भिमकाजी गुरुङ्गले साविक दाउन्नेमा खेलकुदको धेरै सम्भावना रहेको बताउनुभयो। प्रतियोगितामा बुटवल, चितवन, सर्लाही, भक्तपुर, पोखराका गरी कुल १२ टिमहरुको सहभागिता रहने खेल संयोजक धन सिंह चितौरेले जानकारी गराउनुभयो ।
विजेता टिमलाई ५ लाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र र उप विजेता टोलीलाई ३ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट डिफेन्स र सर्वोत्कृष्ट खेलाडीलाई समेत ब्यक्तिगत रुपमा पुरस्कृत गरिने क्लवका अध्यक्ष अमर बहादुर थापा बताउनुभयो । अनुमानित ४८ लाख रुपैया खर्च आंकलन गरिएको आर्थिक संयोजक रुद्र बहादु्र भण्डारीले जानकारी दिनुभयो ।













