ल्होत्से मल तोडफोड र लुटपाटमा चालक र सहचालक नै संलग्न, १५ जना पक्राउ

प्रकाशित मिति:

काठमाडौं, फागुन – माछापोखरीको ल्होत्से मल तोडफोड र लुटपाटमा सार्वजनिक यातायातका सवारी चालक र सहचालक नै संलग्न रहेको पाइएको छ । सोमबार यातायात व्यवसायीको आन्दोलन प्रहरीको नियन्त्रणबाहिर गएपछि त्यसको फाइदा उठाउँदै ल्होत्से मल तोडफोड गरी करोडौं मूल्य बराबरको मोबाइल चोरी भएको थियो ।उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी मनोज केसीका अनुसार सिसीटिभी फुटेज र फोटो, भिडियोलाई आधार मानेर घटनामा संलग्न १५ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका मध्य ७ जना महानगर यातायातका चालक र सहचालक छन् । अन्य केही बाइसधारा यातायात र तारकेश्वर यातायातका चालक र सहचालक रहेको एसएसपी केसीले जानकारी दिए ।

प्रहरीले लुटपाटमा संलग्न चार जनालाई सोही दिन पक्राउ गरेको थियो । लुटपाट गर्न आएका चार जनालाई मलका सुरक्षागार्डले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो । लुटपाटमा संलग्न मुख्यमुख्य व्यक्तिलाई पक्राउ गरिएको र अन्य निगरानीमै रहेको एसएसपी केसीले बताए ।यातायात मजदुरहरुले दस बुँदे माग राख्दै सोमबार आन्दोलन गरेका थिए । शान्तिपूर्ण भनिएको आन्दोलनले अपराह्नसम्म उग्र रुप लिएको थियो । त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । साँझ आन्दोलनकारीहरुले प्रहरीको भ्यान र अस्थायी पोस्टमा आगजनी गरेका थिए ।परिस्थिती प्रहरीको नियन्त्रणबाहिर गएपछि साँझ केही समूह ल्होत्से मलको मूल गेटमा तोडफोड गरी मोबाइल पसलमा प्रवेश गरेका थिए । उनीहरुले पसलमा भएका सबै मोबाइल भीडतर्फ फ्याँकिदिएका थिए भने आफूले पनि लगेका थिए।आगजनी र लुटपाटको घटना अनुसन्धान प्रहरीले डीआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।