राजनीतिक दल, बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल

प्रकाशित मिति:

बुटवल वैशाख । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्र र निकायका व्यक्तिहरुसँग सुझाव संकलन कार्यक्रमअन्तरगत बिहीबार राजनीतिक दल, बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।छलफलको चौधौं श्रृङ्खलाअन्तरगत बिहीबार बिहान बैंक, वित्तिय संस्था र इन्स्योरेन्सका प्रतिनिधिसँग भएको छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा कार्यालय रहेका सबै बैंक, वित्तिय संस्था र इन्स्योरेन्सहरुलाई बुटवल उपमहानगरपालिकामातहतमा आउन आह्वान गर्नुभयो । उहाँले बुटवलमा सञ्चालन भएर पनि वैधानिक हिसाबले करको दायरामा नआएका सबै बैंक, वित्तिय संस्था र इन्स्योरेन्सहरुलाई विधि र नियमको पालना गर्न आग्रह गर्नुभयो ।

उहाँले बुटवलको समृद्धिमा आर्थिक क्षेत्रमा सक्रिय संस्थाहरुको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले सहकार्य र समन्वय गर्नका लागि आग्रह गर्नुभयो । उहाँले सामाजिक क्षेत्रमा सरकारी क्षेत्रको मात्रै नभई निजी क्षेत्रको समेत सक्रियता आवश्यक पर्ने भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी काम गर्न आग्रह गर्नुभयो ।उहाँले सबै क्षेत्र र निकायसँगको छलफल र सुझावका आधारमा बुटवलको विकास सम्भव भएकाले सबैको सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै आगामी नीति कार्यक्रम र बजेट ल्याउने बताउनुभयो ।कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको सहकार्य र समन्वय जरुरी हुने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा धेरै काम गरेपनि उपमहानगरपालिकासँग समन्वय नगर्दा सरकारी हिसाबले कुनै तथ्यांकमा नरहेकोले समन्वय र सहकार्य गर्नका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्र सञ्चालन भएका सबै खालका व्यवसाय कानूनको दायरामा आउनुपर्ने बताउनुभयो । उहाँले सहकारीका क्षेत्रमा केही समस्या देखिएको र आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहका क्षेत्राधिकारमा पर्ने सबै सहकारीलाई कानुनी दायरामा ल्याउने र नियमन गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।कार्यक्रममा सहभागीहरुले बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर काम गर्न इच्छुक रहेकोले आगामी आर्थिक वर्षदेखि नीतिगत तहबाट सहकार्य र समन्वयको वातावरण तयार गर्न सुझाव दिएका थिए । उनीहरुले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकारका रुपमा वास्तविकता बाहिर ल्याउनका लागि अगुवाई गर्नुपर्ने बताएका थिए ।

यस्तै बिहीबार दिउसो राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल तथा सुझाव संकलन कार्यक्रम भएको छ । राजनीतिक दलका जिल्ला, क्षेत्र र नगरका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलका क्रममा दलका प्रतिनिधिहरुले बुटवलको विकासमा संघ, प्रदेश र स्थानीय सरकारका बीचमा योजना कार्यान्वयनमा समन्वय नहुँदा योजनाहरु समयमा पूरा हुन नसकेको बताए । उनीहरुले संघ र प्रदेशबाट साना योजनाहरु ल्याउने र योजना दोहोरिने गर्दा अलमल हुने गरेको बताएका थिए । दलका अध्यक्ष तथा प्रतिनिधिहरुले निर्माण कम्पनीहरुले समयमा काम सम्पन्न नगर्दा त्यसको दोष सरकार र राजनीतिक दलहरुमाथि आइरहेको भन्दै समयमा योजना पूरा नगर्ने निर्माण कम्पनीहरुलाई कारबाही गर्न सुझाव दिएका थिए ।बुटवलमा शिक्षा, स्वास्थ्यका क्षेत्रमा निजी र सरकारी क्षेत्रमै एकरुपता नभएको र सरकारी क्षेत्रले समेत निजीले जसरी रकम असुल्ने गरेको पाइएकोले त्यसलाई नियन्त्रण गर्नतर्फ बुटवलले चासो दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले विकासमा लय समात्दै गरेको र आर्थिक वर्ष पूरा हुँदै गर्दा बुटवलको विकासको नतिजा देखिने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरुको बुटवलको विकासको चासो र चिन्ता रहेको बताउँदै सकारात्मक र सिर्जनात्मक सुझावको अपेक्षा रहेको बताउनुभयो ।कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सबै राजनीतिक दलहरु मिलेर बुटवलको विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रशासनिक कामकारबाही चुस्त बनाउँदै जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा सुधार भएको र सहज भएको बताउनुभयो ।