तामाकोसी पाँचौंमा लगानी जुट्यो

प्रकाशित मिति:

काठमाडौं, जेठ – दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ। ९९।८ मेगावाट क्षमताको तामाकोशी पाँचौं निर्माणमा कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ।आयोजको लागत निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमान गरिएको छ। जसमध्ये सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने सम्झौता भएको छ।आयोजनाको बाँकी रकम सर्बसाधारणलाई समेत सेयर निश्कासन गरी स्वपुँजी इक्विटीबाट जुटाइने छ ।

आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चयकोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरे।तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो।तामाकोसी पाँचौंले बाँध, बालुवा थिग्रयाउने पोखरी डिसेन्डर लगायतका संरचनाहरू बनाउनु नपर्ने भएकाले यो आयोजनालाई आकर्षक मानिएको छ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि जलविद्युत्को उत्पादन बढाउने र प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए। भारत र बंगलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताउँदै घिसिङले ती देशहरुमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको उल्लेख गरे ।प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरुमा ४० अर्ब रुपैयाँभन्दा बढी कोषले लगानी गरेको जानकारी दिँदै तामाकोसी पाँचौं जलविद्युत आयोजना निर्धारित समय र लागतमा निर्माण सम्पन गरी नमूना बनाइनु पर्नेमा जोड दिए।