विद्युत् प्राधिकरणको नाफा १२ अर्ब

प्रकाशित मिति:

काठमाडौं, साउन – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण रुपमा विद्युतीकरण हुने बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले लिएको लक्ष्यअनुसार नेपाल पूर्ण विद्युतीकरण हुने बताएका हुन्। उनले प्रतिव्यक्ति विद्युत खपत २ वर्षअघि २३५ युनिट रहेकोमा २८० पुगेको जानकारी दिए।गत दुई वर्षको अवधिमा ८०० एमभिएको विद्युतको लोड स्वीकृत गरिएको र उद्योगले मागेजति बिजुली दिएको उनले बताए।सर्वसाधारणमा दिइने विद्युत्‌ गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुली लगायतका कार्यलाई प्रभावकारी बनाइने उनले बताए ।

उनले गत आर्थिक वर्षमा प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको जानकारी पनि दिए। आव ०७७र७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो २०७८र७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको उनले बताए। गत आवमा आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित भएको उनको भनाइ थियो।उनका अनुसार प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको छ। प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ। घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको पनि बताए। उनले प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएको बताए। सर्वसाधारणलाई सेयर जारी गर्नका लागि इक्रा नेपालबाट एए प्लस रेटिङ पाएको उनले भनाइ थियो।