बर्दघाटमा सहकारी क्षेत्रको समिक्षा : सुसाशन, पारदर्शिता र आत्मनिर्भरमा जोड

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
कार्तिक २६ गते
नवलपरासी । बर्दघाटमा सहकारीलाई सुसासन, पारदर्शी र आत्मनिर्भरतामा जोड दिइएको छ ।बर्दघाट नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको आर्थिक वर्ष ०८१/८२ को समीक्षा तथा अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ।


बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सहकारी संस्थाहरूलाई सुसाशित र पारदर्शी ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सहकारीको कारोबार मात्र नभई त्यसले व्यवसायिक र कृषकमुखी भूमिकामा उभिनुपर्ने उल्लेख गर्दै नगरपालिकाले असल अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।


श्रेष्ठले हालको जटिल आर्थिक अवस्थाबाट सहकारीहरूलाई जोगाउन नीति, विधि र प्रविधिको प्रयोग गर्दै जिम्मेवार ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अधिकारको मागसँगै कर्तव्य पालनामा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै अहिलेको चुनौतीपूर्ण परिस्थितिमा संस्था जोगाउने र सक्रिय रूपमा परिचालन गर्ने समय आएको बताउनुभयो। नगरपालिकाले पकेट क्षेत्रका कृषकहरूलाई मल र बीउ सहकारीमार्फत वितरण गर्ने कार्यलाई सफलतापूर्वक अघि बढाएको जानकारी पनि उहाँले दिनुभयो। कृषक कार्डमार्फत ५० प्रतिशत अनुदानमा पाँचवटा सहकारीबाट बीउ वितरण गरिएको बताइयो।


कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगर सहकारी सञ्जालको सक्रियता र सहकारी शिक्षामा जोड दिनुभयो। उहाँले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई कृषक र व्यवसायी बीचको सेतुका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै मल, बीउ र बिरुवाको व्यवस्थापनमा नगर तयार रहेको बताउनुभयो। उपाध्यायका अनुसार सहकारीमार्फत बजारीकरण गर्दा बिचौलियाको समस्या हट्ने र उत्पादकले उचित मूल्य पाउने वातावरण तयार हुने भनाइ राख्नु भयो ।


त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल विषय प्रस्तुत गर्दै सहकारी ऐन र नियमावलीका विषयमा सहजीकरण गर्नुभयो। उहाँले स्थानीय तहलाई सहकारीसम्बन्धी अधिकार तोकिए पनि सीपयुक्त जनशक्ति अभावका कारण अनुगमनमा केही कमजोरी रहेको उल्लेख गर्दै सुधारका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो।

बर्दघाट नगरका कृषि तथा पशु विकास शाखाका नवीन ढकालले भूमिहीन किसानलाई उत्पादनमा जोड्न नगरले योजना बनाएको उल्लेख गर्नु भयो । कृषि पकेट क्षेत्रमा तरकारी र मकै पकेट लगायतका क्षेत्रको सहकारीबाट प्रवर्द्धन गर्ने सकिने ढकालको भनाइ छ ।

 पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले बर्दघाट नगरले पाडा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको उल्लेख गर्नु भयो । अहिले पाँचवटा दुग्ध सहकारीमार्फत बजार व्यवस्थापन भइरहेको जानकारी दिनुभयो। साथै, मासु प्रशोधन केन्द्र स्थापना गर्ने योजना रहेको पनि बताउनुभयो।

सहकारी कर्मी ग्रामीण वाल्मीकि बचत तथा ऋण सहकारीका अध्यक्ष रबिन्द्र बिक्रम हमालले राज्य अभिभावक बन्न नसक्दा सहकारीहरू समस्यामा परेको टिप्पणी गर्नुभयो। उहाँले सहकारीका उद्देश्य अनुरूप कार्य गर्न नगर र राज्य निकाय दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। सहकारी कर्मी विष्णु बराल, विष्णु बस्नेत, जित बहादुर श्रेष्ठ, रबिन शर्मा चापागाईं लगायतका प्रतिनिधिहरूले सहकारी सञ्जालको सुदृढीकरण, सामाजिक उत्तरदायित्व, तरलता व्यवस्थापन, स्थानीय उत्पादनको बजार विस्तार, वित्तीय साक्षरता र असल अभ्यास आदिमा जोड दिनुभयो।


सहकारी शाखा प्रमुख सिर्जना अर्यालका अनुसार बर्दघाट नगरपालिकामा स्थानीय तहस्तरका २३, प्रदेशस्तरका १६ र संघस्तरका ४ गरी कुल ४३ वटा सहकारी संस्था सञ्चालनमा छन्। कार्यक्रमले बर्दघाट नगरपालिकाभित्रका सहकारीहरूलाई पारदर्शी, जिम्मेवार र सदस्यमुखी व्यवसाय सञ्चालनतर्फ प्रेरित गरेको देखिन्छ। नगर र सहकारीबीचको सहकार्यले स्थानीय अर्थतन्त्र सुदृढ गर्ने र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।