बर्दघाटमा लगानीकर्तासँग अन्तरक्रिया: ‘बर्दघाट एसएमई भिलेज’ मा औद्योगिक ग्राम सञ्चालन हुने अपेक्षा

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
फागुन १३ गते
नवलपरासी। पश्चिम नवलपरासीमा नेपाल उद्योग परिषद्को आयोजनामा बर्दघाटमा आज ‘लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ। ‘बर्दघाट एसएमई भिलेज: समुन्नत नवलपरासीको आधार’ नाराका साथ आयोजित कार्यक्रमले स्थानीय स्तरमा औद्योगिक विकास, लगानी प्रवर्द्धन र रोजगारी सृजनाको नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।


कार्यक्रममा नेपाल उद्योग परिषद्का कार्यवाहक अध्यक्ष निर्माण चौधरीले स्थानीय स्तरबाट सुरुवात गरिएको औद्योगिक ग्रामले बर्दघाटको मुहार फेर्न सक्ने धारणा राख्नुभयो। उहाँले बर्दघाट क्षेत्रमा प्रशस्त सम्भावना रहेको र सुरुवाती चरणबाटै सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व सचिव अर्जुन कुमार पोखरेलले स्थानीय तहले अघि सारेको नयाँ परियोजनालाई नेपाल सरकारले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले उद्योगले दीर्घकालीन रूपमा राज्यलाई आम्दानी दिने उल्लेख गर्दै भन्नुभयो, “राज्यले औद्योगिक विकास गर्न सके मात्र वस्तु उत्पादन, बजारीकरण र उपभोक्तासम्म पुग्ने प्रत्येक च्यानलमा राज्यको आम्दानी बढ्न सक्छ।” उहाँले हाल कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योगको योगदान ५ प्रतिशत रहेको उल्लेख गर्दै आगामी दिनमा योगदान बढाउन जरुरी रहेको बताउनुभयो। स्थानीय सरकारले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, उद्योगीहरूको ठूलो लगानी जग्गामै हुने बाध्यात्मक अवस्था रहेको र औद्योगिक ग्रामले उद्योगमै लगानी केन्द्रित हुने वातावरण सिर्जना गर्ने उहाँको भनाइ थियो।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छाले देशको विकासका लागि निजी क्षेत्र र सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। देशका युवाहरू विदेशिनुपर्ने बाध्यात्मक अवस्था दुःखद रहेको उल्लेख गर्दै उहाँले रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका प्रमुख रहेको बताउनुभयो। उहाँले नेपालको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्नेमा जोड दिँदै बर्दघाटलाई सम्भावनाको खानीको संज्ञा दिनुभयो। बर्दघाटको औद्योगिक ग्राम सञ्चालनमा गोल्छा ग्रुपको लगानी हुने पनि उहाँले उल्लेख गर्नुभयो।


नेपाल उद्योग परिषद्का उपाध्यक्ष तथा उद्योगी विष्णु कुमार अग्रवालले लगानीमैत्री वातावरणबिना लगानी सुरक्षित नहुने बताउनुभयो। उहाँका अनुसार औद्योगिक नीतिमार्फत स्पष्ट र स्थिर वातावरण सिर्जना गर्न राज्य अग्रसर हुनुपर्छ। दक्ष जनशक्ति बजारबाट उपलब्ध हुनुपर्ने र आवश्यक परे राज्यले नै उत्पादन गर्नुपर्ने उहाँको भनाइ थियो। कच्चा पदार्थको सहज उपलब्धता, लगानीको सुनिश्चितता र प्रविधिमैत्री प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले “स्थानीय स्तरमै उद्योग र स्थानीय स्तरमै रोजगारी” भन्ने मूल नारालाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभयो। ग्रामीण औद्योगिक क्षेत्रलाई वित्तीय अवस्था, जनशक्ति र प्रतिफलका दृष्टिले कसरी सबल बनाउने भन्ने विषयमा रणनीति आवश्यक रहेको उहाँको भनाइ थियो।


नबिल बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवालीले बर्दघाट नेपालको भौगोलिक केन्द्रमा रहेको बताउँदै यहाँ कृषि, लजिस्टिक्स, पर्यटन र सोलार जस्ता क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो। बर्दघाट क्षेत्रमा करिब २५० वटा वित्तीय संस्था रहेको जानकारी दिँदै उहाँले लगानीकर्तालाई वित्तीय सहजीकरण गर्न सकिने प्रतिबद्धता जनाउनुभयो।


बर्दघाट नगरपालिकाले तयार गरेको औद्योगिक ग्राम करिब १५ बिघा ८ कठ्ठा क्षेत्रफलमा फैलिएको छ। औद्योगिक ग्राममा ९० वटा साना तथा मझौला उद्योगहरु सञ्चालन गरिने छ । करिब २७ करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण हुने यस परियोजनामा ९५ हजार ५ सय ९६ रुपैयाँ प्रतिकठ्ठाका दरले जग्गा उपलब्ध गराइने जानकारी कार्यक्रममा दिइएको थियो।


कार्यक्रममा लुम्बिनी उद्योग परिषद्का अध्यक्ष एजाज आलमले बुटवलसँग नजिक भएकाले बजार र पूर्वाधारका हिसाबले राम्रो सम्भावना रहेको बताउनुभयो। उहाँले साना तथा मझौला उद्योग सञ्चालनका लागि उपयुक्त स्थान भएको उल्लेख गर्दै अन्य क्षेत्रमा जस्तो ठूलो उद्योग जग्गाको आवश्यकता यहाँ नपर्ने बताउनुभयो। स्थानीय उद्योगलाई प्राथमिकता दिँदा स्थानीय अर्थतन्त्र बलियो हुने धारणा उहाँले राख्नुभयो।


बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले औद्योगिक ग्राम सञ्चालनमा आएपछि बर्दघाट क्षेत्रमा लगानी थपिने र उद्योग विस्तार हुने अपेक्षा राख्नुभयो। त्यस्तै, उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेलले कृषि, धार्मिक पर्यटन र उद्योगीकरणको राम्रो सम्भावना रहेको बताउनुभयो। पूर्व–पश्चिम राजमार्गको सिधा पहुँचले पहाड–मधेस र भित्र मधेसलाई जोड्ने भएकाले बर्दघाट क्षेत्र औद्योगिक हबका रूपमा विकास हुन सक्ने धारणा उहाँले राख्नुभयो।


कार्यक्रममा युवा उद्यमी मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष राजन कसजु, रोहित गुप्ता लगायतले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग, लगानीमैत्री वातावरण, दक्ष जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री नीतिको आवश्यकताबारे धारणा राख्नुभयो । कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सृजना गर्ने, आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य साकार पार्न सहयोग पुग्ने विश्वास लिइएको छ। बर्दघाट एसएमई भिलेजले पूर्व–पश्चिम राजमार्गको सिधा पहुँच र पहाड–मधेसलाई जोड्ने भौगोलिक अवस्थाका कारण यस क्षेत्रलाई औद्योगिक हबका रूपमा विकास गर्न ठोस कार्ययोजना तयार पार्ने अपेक्षा गरिएको छ।


कार्यक्रममा निजि क्षेत्रको नेतृत्वकर्ताहरु सङ्गै नेपाल उद्योग परिषद, बर्दघाट उद्योग बाणिज्य संघ, बर्दघाट उद्योग व्यापार संघ स्थानीय लगायतकोले औद्योगिक ग्रामको सञ्चालनका बिषयमा अन्तरक्रिया गरेका थियो ।