“परदेशीलाई गुन्द्रुक, मस्यौराको कोसेली या नुन–चुक”

प्रकाशित मिति:

✍️ एम.पी. अर्याल

घडीले होइन, जिम्मेवारीले समय चलाउँदो रहेछ। त्यसैले त सास पनि कर्तव्यको हिसाबले लिइन्छ।

टाढा हुनु केवल टाढिनु होइन, यो त आफूबाटै छुट्टिनु जस्तै हो।
मानौँ, जीवन चलिरहेछ, तर आफूभित्रको मान्छे कतै रोकिएको छ।
यस्ता विषयवस्तुमाथि प्रश्न गर्दा स्पष्ट जवाफ आउँदैन, किनकि
केवल सम्झनाहरू आउँछन्, सान्त्वना दिन खोज्छन्, तर झन् भित्र गहिरो घाउ बनाइदिन्छन्।

जति सम्झन्छौँ, त्यति नै पीडा पनि गहिरिँदै जान्छ।
चारा दिएर गुलेली ताक्नेहरू पनि देखेकै छु मैले समाजमा, घर–परिवारमा। तब थाहा भयो, माया त सर्तमा बाँधिएको हुँदो रहेछ।
नजिक बोलाउँछन्, तर आत्मा टाढा राखेर। त्यही अपनत्व, जुन गाउँको हावामा, पाखा–पखेरामा पाइन्थ्यो, यहाँ लाख खोज्दा पनि भेटिँदैन।

त्यो पन, त्यो सत्यता यहाँ हराएको जस्तो पक्का लाग्छ।
मनले, भावनाले सम्झन त मिल्छ होला नि प्रदेशीले,तर कहिलेकाहीँ त्यही सम्झनाले नै मुटु भारी बनाइदिन्छ। किनकि सम्झनु भनेको फर्किन नसक्ने ठाउँमा पुग्नु बराबर हो। जहाँ पुग्दा हरेकपटक आफू अझै टाढा भएको महसुस हुन्छ। साँचो कुरा त यही हो, सबैको भागमा जन्मभूमि र कर्मभूमि सँगसँगै लेखिएको हुँदैन रहेछ।

कोही भाग्यमानी हुन्छन्, जसले दुवै एउटै ठाउँमा पाउँछन्। जीवनले सबैलाई समान अवसर दिँदैन, कसैलाई रोजाइको ठाउँमा बाँच्न दिँदैन। कोही भाग्यमानी हुन्छन्, जसले दुवै एउटै ठाउँमा पाउँछन्,
जहाँ उनीहरूको सपना र पहिचान एकै ठाउँमा फुल्छ।
यही टुक्रिएको अवस्थामै दोमन, दोधार, दोसाँधमा बाँच्न सिक्नु नै
सायद परदेशीको सबैभन्दा ठूलो नियति हो। जहाँ न पूर्ण रूपमा यहाँको, न त्यहाँको हुन सकिन्छ।

सक्नुहुन्छ भने मायाले भरिपूर्ण गुन्द्रुक, मस्यौरा पठाइदिनुस्,
सक्नुहुन्न भने नुन–चुक कोसेली कृपया कष्ट नगरीदिनु होला।
किंचित चाड–बाड, जन्त, मलामी, बिहे, व्रतबन्ध, जननी, जन्मभूमि, बा, आमा र देशदेखि पर रहेका आफ्नालाई चाहिएको कुनै वस्तु होइन, मायाको महसुस हो, प्रेम हो, सद्भाव र श्रद्धा हो, समदूरी र समभाव हो।

“प्रवासीहरूप्रति समर्पित”