नेपाल– बंगलादेशसँग व्यापार विस्तारमा सहकार्य गर्ने राजदूत रहमानको प्रतिबद्धता- रूपन्देही उद्योग संघद्वारा स्वागत, निर्यात–आयात सहजीकरण र लगानी प्रवद्र्धनमा जोड
बुटवल । रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहमद साफिकुर रहमानलाई स्वागत गर्दै नेपाल–बंगलादेशबीचको व्यापार, लगानी तथा औद्योगिक सहकार्य विस्तारका विषयमा अन्तरक्रिया गरेको छ । शुक्रबार संघको कार्यालयमा आयोजित कार्यक्रममा यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात–आयातका चुनौती, लगानीका सम्भावना तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा उद्योगी–व्यवसायी र राजदूत रहमानबीच विस्तृत छलफल भएको थियो । राजदूत रहमानले नेपाल र बंगलादेशबीच व्यापारिक सम्बन्ध विस्तारका लागि विद्यमान अवरोध हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वहाँले नेपालबाट बंगलादेशमा निर्यात गर्न सकिने वस्तु, बंगलादेशबाट नेपालमा आयात भइरहेका सामग्री तथा दुवै देशका निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे विशेष चासो व्यक्त गर्नुभयो।वहाँले दुई देशबीचको व्यापारिक सम्बन्ध अझै विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीका सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने विश्वास दिलाउनुभयो। नेपाल र बंगलादेशबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले रुपन्देही औद्योगिक उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको बताउँदै नेपालबाट निर्यात भइरहेका उत्पादनलाई बंगलादेशी बजारमा सहज पहुँच दिलाइदिन आग्रह गर्नुभयो। उहाँले बंगलादेशबाट आयात हुने कच्चा पदार्थ तथा अन्य वस्तुको आयात प्रक्रियालाई पनि सहज बनाउन आवश्यक सहजीकरण गर्न राजदूत रहमानसँग अनुरोध गर्नुभयो ।
अध्यक्ष पराजुलीले बंगलादेशका उद्योगी तथा लगानीकर्तालाई नेपालमा लगानीका लागि सकारात्मक वातावरण रहेको सन्देश दिन आग्रह गर्दै पर्यटन, ऊर्जा, कृषि प्रशोधन र उत्पादनमूलक उद्योगमा सहकार्यको प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो । सो अवसरमा वहाँले रुपन्देही उद्योग संघको गतिविधि, अल्पकालिन तथा दिर्घकालिन कार्यक्रमहरुको सन्दर्भमा जानकारी गराउनु भएको थियो ।संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले नेपाल र बंगलादेशबीच भौगोलिक तथा जलवायुको समानतासँगै ठूलो बजार रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापार विस्तारका लागि नियमित व्यापारिक भ्रमण, प्रदर्शनी तथा व्यवसाय–व्यवसाय -बी–टु–बी) भेटघाट आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालमा उत्पादन भएको स्वच्छ जलविद्युत् बंगलादेशसम्म निर्यात गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै ऊर्जा व्यापारले दुई देशको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने धारणा राख्नुभयो ।संघका महासचिव सुमन बस्यालले नेपाली युवाले उद्योग क्षेत्रमा उल्लेखनीय लगानी गरिरहेको बताउँदै नेपालमा उत्पादित कृषि, खाद्य तथा औद्योगिक वस्तु बंगलादेशी बजारमा प्रतिस्पर्धी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क बढाउन दुवै देशका उद्योग संगठनबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल, गोयन्का फुड्सका विकास गोयन्का, संघका सल्लाहकार ऋषि भण्डारीलगायत उद्योगी–व्यवसायीले बंगलादेशको आयात–निर्यात नीति, भन्सार प्रक्रिया, व्यापार सहजीकरण तथा लगानीका अवसरबारे जिज्ञासा राखेका थिए ।छलफलका क्रममा दुवै पक्षले नेपाल–बंगलादेशबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रबीच निरन्तर संवाद, उद्योगीहरूको पारस्परिक भ्रमण तथा व्यापार सहजीकरणका विषयमा सहकार्य अघि बढाउने सहमति जनाएका थिए। कार्यक्रममा संघका पदाधिकारी,सल्लाहकार एवं कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो ।









