चिनी मिल संचालनमा ल्याउन किसानहरुको माग

प्रकाशित मिति:

कुनै बेला उखुको रकम भुक्तान पाउन र उखुको मूल्य निर्धारण गर्न आन्दोलन गर्नु परेका नवलपरासीका किसानहरु यस पटक भने चिनी मिल सञ्चालनको माग गर्दै सडकमा उत्रिने भएका छन् ।उनीहरुले उखु खेतमै फुलेर जान थालेको प्रति चिन्ता व्यक्त गर्दै चिनी मिल सञ्चालकहरुले तत्काल चिनी मिल सञ्चालनमा नल्याए सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन ।सोमबार नवलपरासीको सुस्ता गाऊपालिका वडा नं २ कुडियाको बागमती सुगर मिल गेट अगाडि उखु मिल संचालनको लागि गरेको दबाबमूलक कार्यक्रममा बोल्दै तत्काल चिनी मिल सञ्चालनमा नआए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

दशैंको आसपासबाट उखु क्रसिङको सिजन सुरु हुने गर्दछ तथापि नवलपरासीमा अझै चिनी मिलहरु सञ्चालनमा आउन सकेको छैन जसले गर्दा उखु किसानहरु मारमा परेका छन् ।नवलपरासीमा इन्दिरा सुगर मिल, बागमति खाडसारी मिल र सुनवल चिनी कारखाना गरी ३ वटा चिनी मिलहरु सञ्चालनमा रहेका छन् । अहिले ति तिनवटै चिनी मिल सञ्चालनमा छैनन् ।उखु उत्पादक कृषक समिति नवलपरासीले किसानहरुको उखु बारीमै खेर जान लागेको भन्दै बेलैमा चिनी कारखानाहरु सञ्चालनमा ल्याउन दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार नेपालमा रहेका १२ वटा चिनी मिल तथा उद्योगहरुका सञ्चालकहरु र उखु उत्पादक संघबीच गत २५ पुसमा महोत्तरीको बर्दिबासमा भएको सहमति अनुसार माघ २ गते चिनी सञ्चालन गर्ने र उखु खरिद गरेको ३० देखि ४५ दिन भित्र रकम भुक्तान गर्ने सहमति भएको थियो ।बेलैमा क्रसिङ्ग शुरु भएको भए अहिले उखुबारीबाट उखु सकिने बेला भईसक्थ्यो यादवले भने उखु क्रसिङ्गको समय सकिन लाग्दा सम्म पनि मिल सञ्चालनमा नआउँदा किसानहरुको उखु खेतमै सुकेर जाने अवस्थामा पुगेको छ ।