उद्योगीहरुको आन्दोलन जारी

प्रकाशित मिति:

बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर घटाउन माग गर्दै आन्दोलित भैरहवाका उद्योगी व्यवसायीहरुले बुधबार पनि बैंक तथा वित्तीय संस्थामा ज्ञापनपत्र बुझाएका छन् । उद्योग व्यापार संगठनको नेतृत्वमा उद्योगी व्यवसायीहरुले बैंकका शाखा प्रबन्धक मार्फत प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् ।संगठनको नेतृत्वको उद्योगी व्यवसायीहरुको टोलीले यस क्षेत्रमा रहेका ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई ब्याजदर घटाउन माग सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । सोही अनुसार बुधबार २१ वटा बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

बुधबार प्रभु बैंक, आइसीएफसी फाइनान्स, गरिमा विकास बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, पोखरा फाइनान्स लिमिटेड, एनआइसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, सेञ्चुरी बैंक, सनराइज बैंक, एसबीआइ बैंक, लुम्बिनी विकास बैंक, एनसिसी बैंक, पुर्णिमा बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक मार्फत प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाइएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । अहिले बैंकहरुले सातआठ प्रतिशतमा दिएको ब्याज बढाएर १६.७५ प्रतिशत बनाएको उद्योग व्यापार संगठन उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए । व्याजदर नघटे ८ गते सरोकारवालासँग अन्तरक्रिया गर्ने र ९ गते व्यक्तिगत खाता बन्द गर्ने चेतावनी सहित सबै व्यवसायीले आआफ्नो खाता संचालन रहेको बैंकमा निवेदन दिने उद्योग ब्यापार संगठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।