झबिन्द्र देबकोटा/ देबदह प्रतिकुल मौसमका कारण पनि देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सवमा दर्शकको सहभागिता बड्दो छ । शनिबार रातीदेखि वर्षा भएतापनि आईतबार दर्शकको घुईचो रोकिएन । शुक्रबारदेखि शुरु भएको मेलामा आईतबार साँझसम्म ७० हजारबढी दर्शकले मेलाको अवलोकन गरेको र १ करोडबढीको कारोवार भएको मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका कोषाध्यक्ष तथा आर्थिक संयोजक सन्तोषनारायण श्रेष्ठले जानकारी दिए ।

‘उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लागेको मेलामा स्थानीय औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका ४५ जिल्लाका स्टलहरु रहेका छन् । फागुन २८ गतेसम्म लाग्ने मेलाको ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा गरिएको छ भने मेलामा सेल्फि स्टेशन, ठुलो आकारको खुकुरी, विज्ञान प्रदर्शनी, विजय सालको जुस लगायतका स्टलहरु मेलाको आकर्षण रहेका छन् । आईतबारको मेलामा आधुनिक गायक सौगात सायर, देउडा गायक मनोजसिंह धामी, लोकदोहोरि गायिका सपना गाहा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । आइतबार भएको डान्सिङ्ग आइडलमा युगज्योति मावि प्रथम, सगरमाथा आवासिय मावि द्वितिय, ज्ञानज्योति मावि तृतिय र देवदह बोर्डिङ्गले सान्त्वना स्थान हासिल गरेका छन् । विजयी प्रतियोगिलाई समापन कार्यक्रममा पुरस्कार वितरण गरिने छ ।
यस्तै सोमबार लोकदोहोरी गायिका रितु थापा, गायक नविन पौडेल, हास्यकलाकार उज्वल गिरी लगायतका कलाकारले आफ्नो प्रस्तुति देखाउने साँस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिए ।












