बुटवल । रुपन्देहीका डेरी व्यवसायीले सरकारले ल्याएको दुग्धजन्य पदार्थसम्बन्धी नीतिको विरोध गरेका छन् ।नीतिले किसान, दुग्ध व्यवसायी विस्थापित हुने खतरा बढेको भन्दै यसले ‘मिल्क होलिडे’ को अवस्था आउने चेतावनी दिएका छन् ।बुटवलमा शुक्रबार पत्रकार सम्मेलन गरीरुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष नेत्रप्रसाद पाठकले किसान, सहकारी तथा डेरी व्यवसायीलाई नयाँ नीतिले समेट्न नसकेको बताए । उनले दुग्ध निर्देशिका– २०७५ लाई संशोधन गरी किसान मैत्री बनाउन आग्रह गरेका छन् ।
नयाँ नीतिअनुसार डेरी व्यवसायीले एक महिनाभित्र अनिवार्य रुपमा लोगो अंकित प्याकेटको दूधमात्रै बिक्री वितरण गर्नुपर्छ । अध्यक्ष पाठकले आफूहरु सरकारी नीतिको विरोधी नभए पनि सरकारले छलफलनै नगरी ल्याएकाले संशोधन गर्नुपर्ने बताए ।
‘उपभोक्ताको रोजाइमा अहिले पनि खुल्ला दूध हुने गरेको छ, तर जबर्जस्ती रुपमा पोके दूध खुवाउनुपर्ने यो कस्तो बाध्यता हो’ उनले भने ।निजी दुग्ध व्यवसायी गणेशदेव भण्डारीले आफूहरुलाई एक बर्ष भन्दा बढीको समय दिनुपर्ने बताए । उनले व्यवसायीहरुले प्याकेजिङ उद्योग स्थापना गर्नका लागि करोडौ रुपैया लाग्ने भन्दै एक महिनामा सम्भव नहुने धारणा राखे ।












