काठमाडौं – माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नु पर्ने सम्पूर्ण परीक्षण सम्पन्न भएको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । यस्तो परीक्षणमा सुरुङबाट आएको पानीलाई पेनस्टक पाइप हुँदै विद्युत गृहमा रहेको टर्वाइनमा झारिन्छ र त्यसबाट जेनेरेट, कन्ट्रोल प्यानेल लगायतका उपकरणहरु डिजाइन अनुसार चलेरनचलेको हेरिन्छ ।
विद्युत् भने उत्पादन हुँदैन । रसुवा र नुवाकोटमा निर्माण भइरहेको आयोजनाको पहिलो युनिटबाट आज विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको थियो । तर, आयोजनाका संरचना तथा उपकरणहरुको परीक्षणमा समय लागेकाले व्यवसायिक रुपमा विद्युत उत्पादन केही ढिलाइ भएको घिसिङले बताउनुभयो । ३० मेगावाटको सो युनिटबाट यही महिनाभित्रै व्यवसायिक उत्पादन थाल्ने प्राधिकरणले जनाएको छ । ३० मेगावाटको दोस्रो युनिटबाट असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २ सय २० केभी प्रसारण लाइनको निर्माण सकिएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना सरकारको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो ।












