भैरहवा । भैरहवामा रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी शिक्षा तथा सचेतना सम्बन्धि ३ दिने तालीम एक कार्यक्रमको बिच शनिबार सम्पन्न भएको छ । आफ्ना पदाधिकारी, सल्लाहकार तथा शेयर सदस्यहरुलाई सहकारी बारे जानकारी दिने उद्देश्यले ३ दिने तालीमको आयोजना गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले जानकारी दिए । उनले सहकारी बारे अहिले पनि कतिपय शेयर सदस्यहरुलाई पुरा जानकारी नभएको तथा भएकालाई पनि बिद्यमान कानूनी ब्यवस्थाहरु बारे जानकारी दिन पनि तालीमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सहकारीमा आवद्ध ७ सय ३० जना सदस्यलाई नै यो तालीम प्रदान गरिने जानकारी दिए ।
बिहिबार सुरु भएको तालीम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै संस्थाका कानूनी सल्लाहकार दिलिप कुमार मल्लिक, सल्लाहकार परशुराम पराजुली, लेखा समिति संयोजक चेत नारायण ज्ञवाली, प्रशिक्षार्थी श्रीराम गुप्ता, लक्ष्मी खत्री, संस्थाका शिक्षा, स्वास्थ्य तथा सरसफाई संयोजक मात्रिका प्रसाद यादवले यस्ता तालीमले सहकारीताको भावना अझै बढेर जाने कुरामा जोड दिएका थिए । सहकारीहरुको सिद्धान्तमै शिक्षामा बढी जोड दिए पनि अझै पनि कतिपय संस्थाहरु औपचरिकतामा मात्र सिमित भएको उनिहरुको भनाई थियो ।
समापन कार्यक्रममा बोल्दै तालीमका प्रमुख प्रशिक्षक जिल्ला सहकारी संघका कोषाध्यक्ष दामोदर पंगेनीले सहकारीको बारेमा जानकारी लिएका सदस्य भए संस्था थप बलियो हुने बताए । उनले तीन दिने तालीम कार्यक्रममा सहकारीको विकास संगै, यसको उद्देश्य, नेपालमा सहकारीको अवश्था, सहकारीका सिद्धान्त, सहकारी बारे बिद्यमान कानून आदिको बारेमा सहजीकरण गरेको बताए । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त कुमार लाल कर्णको अध्यक्षतामा सम्पन्न तालीम कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य दिपक घिमिरेले गरेका थिए । तालीममा शेयर सदस्य र संस्थाका कर्मचारी गरि ५२ जनाको सहभागीता रहेको थियो ।












