काठमाडौं, वैशाख २४ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले उपभोक्तालाई सुलभ र सुपथ मूल्यमा चिनी उपलब्ध गराउन र चिनी उद्योगका समस्यालाई पनि छलफलका आधारमा समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ।
बैठकले कर्कटपातामा मुलुक आत्मनिर्भर भइसकेको हुँदा स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न ककर्टपाता आयातलाई रोक लगाउन सुझाव दिएको सभापति विमाल श्रीवास्तवले जानकारी दिए। गोर्खाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पबाट धेरै घर क्षति भएपछि सरकारले तत्कालको माग धान्न बाहिरबाट जस्तापाता आयात गर्ने र त्यसमा भन्सार छुट दिने नीति बनाएको थियो।भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको र मुलुकको माग धान्न सक्ने जस्तापाता स्वदेशमै उत्पादन हुने ठहर गर्दै समितिले सरकारलाई उक्त निर्देशन दिएको हो। यसअघि समितिले स्वदेशी उद्योगीसँग छलफल गरी राय सुझाव लिएको थियो।
बैठकले स्वदेशमै उत्पादन हुने टेलिभिजनका पार्टपुर्जामा लिँदै आएको दोहोरो कर हटाउन सरोकारवालासँग छलफल गरी निर्णयमा पुग्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ। विविध कारणले बन्द रहेको टेलिभिजन उत्पादनसम्बन्धी उद्योग सञ्चालनमा ल्याउन सरकारलाई तत्काल पहल गर्न समितिले निर्देशन दिएको छ। त्यस्ता उद्योग बन्द हुँदा हजारौँको संख्यामा श्रमिक रोजगारी गुमेर अलपत्र परेका सभापति श्रीवास्तवले जानकारी दिए।












