कांग्रेसले बनायो अर्थतन्त्रमा कोरोनाको असरबारे अध्ययन गर्न विशेष समिति

प्रकाशित मिति:

काठमाडौं, वैशाख २४ स् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले कोरोना भाइरसले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण बनाउन अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेको छ।गत वैशाख १७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयानुसार बुधबार सभापति शेरबहादुर देउवाले पूर्वअर्थमन्त्री डा। रामशरण महतको संयोजकत्वमा अर्थतन्त्र केन्द्रित विशेष समिति गठन गरेका हुन्। समितिले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्नेछ।महतको संयोजकत्वमा गठित १४ सदस्यीय समितिमा कांग्रेसबाट अर्थमन्त्री र राज्यमन्त्री भइसकेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका र विगतमा योजना आयोगको उपाध्यक्ष भएर काम गरेका व्यक्ति रहेका छन्।

समितिमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, डा। मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दीपकुमार उपाध्याय, भरत शाह, उदयशम्बेर राणा, डा। पृथ्वीराज लिगल, डा। शंकर शर्मा, डा। जगदीशचन्द्र पोख्रेल, डा। गोविन्द पोख्रेल र डा। स्वर्णिम वाग्ले सदस्य रहेका छन्।समितिले तत्कालीन रुपमा अत्यावश्यक राहतबारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकताबारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्रबारे दुरगामी दृष्टिकोण निर्माण गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा कांग्रेसले आफ्नो अवधारणा र भुमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने विज्ञप्तिमा उल्लेख छ।