ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरीमा विराट मेला तथा कुस्ती दंगल हुने

प्रकाशित मिति:

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ५ स्थित गौरीमा विराट मेला तथा कुस्ती दंगल हुने भएको छ । ओमसतिया श्रीरामजानकी मन्दिरको व्यवस्थापन समितिको आयोजनामा यही मंसिर ७ गते कार्तिक शुक्ल पूर्णिमाको दिन मेला, मंसिर ८ र ९ गते कुस्ती दंगल र मंसिर १ गते देखि ७ गते सम्म सांस्कृतिक कार्यक्रम हुने भएको हो । मेला सिलौटीया मेलाको रुपमा पनि परिचित रहेको छ । प्राचिन काल देखि धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ओमसतियामाई श्री रामजानकी मन्दिरको अदभुत शक्तिको रुपमा चिनिने र आफ्नै पहिचान रहेको हुँदा सदिऔं देखि कार्तिक शुक्ल पूर्णिमाको दिन हुने मेलामा देशविदेशबाट श्रदालु भक्तजनहरुको घुँइचो लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट(राहुल)ले बताए । ओमसतियामाई मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित गर्न गाउँपालिकाले गुरुयोजना बनाउने क्रममा रहेको उनले बताए । त्यस्तै मन्दिर आसपास रहेका क्षेत्रमा कृषि बजार व्यवस्थापनको परिकल्पना समेत गाउँपालिकाले गरेको केवटले जानकारी दिए । साढे ३ सय वर्ष पुरानो ओमसतियामाई मन्दिर राष्ट्रिय सम्पदामा सुचीकृत हुन नसक्नु दुःखद हो, त्यसका लागि गाउँपालिकाले पहल गर्दैछ, उनले भने ।

देशविदेशबाट पहलमानहरुको सहभागिता रहने कुस्ती प्रतियोगितामा प्रथम पुरस्कार रु. ७० हजार, द्धितीय ३५ हजार, तृतीय २० हजार, २ जोडीकोे १५ हजार, ५ जोडीको १० हजार, १० जोडीको ५ हजार, १० जोडीको २ हजार र १ हजार राखिएको ओमसतिया गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए । मेला, कुस्ती तथा सांस्कृतिक प्रतियोगिता गर्दा करिब ७ लाख खर्च लाग्ने धवलले बताए । त्यस्तै भक्तजनलाई सहज आवातजावतको लागि मन्दिर नजिकै रहेको खोलामा अस्थायी पुल निर्माण गरिने उनले जानकारी दिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरमा श्रद्धालु भक्तजनले मागेको कुरा पुरा हुने विश्वास रहिआएको श्री श्री १०८ बाबा विश्वनाथले बताए । मेला सफल पार्न गाउँपालिका अध्यक्ष हिरा केवट(राहुल)को संयोजकत्वमा ८ वटा विभिन्न उपसमिति बनाइएको छ ।