मोर्मीमा टोलस्तरीय सुपर सिक्स क्रिकेट प्रतियोगिता जारी, दोस्रो दिन तीन टोली विजयी
३१ असोज, कपिलवस्तु । विजया दशमीको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मोर्मी स्थित मैरावामा शुक्रबारदेखि सुरु भएको टोलस्तरीय सुपर सिक्स क्रिकेट प्रतियोगिता जारी छ। मोर्मी युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन शनिबार तीन खेल सम्पन्न भएका छन्।
दोस्रो दिनको खेलमा चप्परगाउँ टोल, मोर्मी टोल र आयोजक टोली विजयी भएका छन्। प्रतियोगितामा स्थानीय विभिन्न टोलका टोलीहरूको सहभागिता रहेको छ। शनिबार सम्पन्न पहिलो खेलमा वाणगंगा टोल र चप्परगाउँ टोलबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा चप्परगाउँ टोलले वाणगंगा टोललाई ११ रनले पराजित गर्दै विजयी भयो। उत्कृष्ट प्रदर्शन गरेका चप्परगाउँका मनोज क्षेत्री म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी, दोस्रो खेलमा मोर्मी टोलले बन्डौली टोललाई पराजित गर्यो। बन्डौली टोलले दिएको १०२ रनको लक्ष्य मोर्मी टोलले ५।५ ओभरमै पूरा गर्दै शानदार जित हात पारेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका मन्जित बेल्बासे म्यान अफ द म्याच घोषित भए। दिनको तेस्रो खेल आयोजक मोर्मी युवा क्लबको टोली र ढोडेकोल टोलबीच भएको थियो। उक्त खेलमा आयोजक टोलीले ढोडेकोल टोललाई ४२ रनले पराजित गर्दै जित दर्ता गर्यो। आयोजक टोलीका गोविन्द गौतम म्यान अफ द म्याच घोषित भए।

विजया दशमीको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय युवामा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै नयाँ प्रतिभाको पहिचान, खेलकुदको विकास र युवाबीच आपसी सद्भाव तथा भाइचारा अभिवृद्धिमा सहयोग पुग्ने आयोजकले जनाएको छ। टोलस्तरमा विभिन्न टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएको छ। चाडपर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलप्रेमी तथा युवाहरूमा उत्साह थपेको छ।
स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउँदै स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मोर्मी युवा क्लबका अध्यक्ष मन्जित बेल्बासेले जानकारी दिए। उनका अनुसार प्रतियोगिताले स्थानीय युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत आपसी एकता र सद्भाव कायम गर्न सहयोग पुग्नेछ।









