गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण हुने

प्रकाशित मिति:

रमेश विश्वकर्मा
गुल्मी, कात्तिक१८ । गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण हुने भएको छ । यसै वर्षदेखि निर्माण हुने उक्त पुस्तकालय भवनको आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शिलान्यास गरेका छन । कार्यक्रममा बोल्दै आजभन्दा ५० वर्ष पहिले नै पुस्तकालय निर्माणको सोच आउनु आफैमा अमूल्य सोच भएको भन्दै मन्त्री विष्टले आफुले अध्ययन गरेको महेन्द्र माध्यमिक विद्यालय अनि किरण पुस्तकालयमा पत्रिका पढ्न र केही अध्ययन सामग्रीहरु हेर्न जाने गरेको आफ्नो त्यो बाल्यकाललाई सम्झेका थिए । उनले किरण पुस्तकालयले सतमार्गमा हिंड्न बाल्यकालदेखि नै आफुलाई प्रेरित गरेको बताए । मन्त्री बिष्टले बचपनका गुरु शशि पन्थीको बोल्ने क्रममा पटक पटक नाम लिदै उहाँले देखाएका बाटोमा हिडिरहेको जिकिर गर्दै गुरुप्रति असल शिक्षा प्रदान गरेकोमा धन्यवाद तथा सम्मान व्यक्त गरेका थिए । किरण पुस्तकालयलाई आज यहाँसम्म ल्याउनका लागि जो जसले योगदान गरे सबैप्रति मन्त्री बिष्टले सम्मान र धन्यवाद व्यक्त गरे । उनले पुस्तकालयले ४५ वर्षभन्दा लामो अवधिदेखि हाम्रो पुरुषार्थ निरन्तर प्रकाशित गरेर समग्र नेपाली समाजमा ज्ञानको ज्योति फैलाउने सकारात्मक सोचका साथ समाजलाई बाटो देखाउने काममा भूमिका निर्वाह गरेको बताए । मन्त्री बिष्टले आफ्ना साथी अमन मास्केले महिनौं लगाएर पुस्तकालय भवनको डिजाइन निशुल्क गरिदिएकोमा उनीप्रति पनि सम्मान र धन्यवाद प्रकट गरे । उनले पाको उमेरसम्म आइपुग्दा पनि पुस्तकालयको संरक्षणका लागि अध्यक्षता ग्रहण गरेर महत्वपूर्ण भूमिका खेलेको भन्दै पुस्तकालयका अध्यक्ष नर प्रसाद श्रेष्ठको प्रशंसा गरे । मन्त्री बिष्ट आफु पुस्तकालय भवनको शिलान्यासको जिम्मेवारी पूरा गर्नकोलागि मात्रै आएको नभई यसको निर्माण कार्यलाई सम्पन्न समेत गर्ने जिम्मेवारी आफुले लिएको बताए । कार्यक्रमकै बीच बिष्टले मदन भण्डारी राजमार्गलाई गुल्मी हुँदै पूर्वी नेपालको इलामबाट सुदूरपश्चिम तथा भारतसम्म जोड्न ७० देखि ८० अरब रुपैयाको लागत लाग्ने १२६० किलोमिटर लामो सडक निर्माणको योजना ल्याएको र त्यसका लागि यसै वर्ष ५ अरब बजेट विनियोजन भइसकेको बताए । उनले गुल्मीको पहिचान रुरु रेसुङ्गाको विकासका लागि महत्वपूर्ण योजना ल्याउने बताए । मन्त्री विष्टले भने गुल्मी जिल्लामा पनि सुविधा सम्पन्न अस्पतालको खाँचो भएका कारण बजेट निकासाको प्रक्रिया मिलाउने बताए । सदरमुकाममा समेत सभा अर्थात कुनै पनि कार्यक्रम गर्नको लागि त्यस्तो ठुलो सभाहल नभएको हुनाले यहाँ कार्यक्रम गर्न अलि असहज भएको हुँदा एउटा ठुलो सभा भवनको समेत निर्माण गर्नको लागि आफुले पहल गर्ने बताए । पहाडी जिल्लामा २\४ वटा ठाउँमा मात्र योजना समावेश गर्दा पनि यस पटक सदन बस्ती विकास कार्यक्रम अन्तर्गत जिल्लाको मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका समेत समावेश गरेको मन्त्री विष्टले वताए ।उनले भने पहिले यो कार्यक्रम तराई केन्द्रित मात्र थियो अहिले पहाडका जिल्लामा ल्याएको र त्यसमा पति एउटै जिल्लाको २ वटै नगरपालिका सदन शहरी कार्यक्रमको रुपमा समावेश गरेको बताए । यस कार्यक्रम अन्तर्गत नगरपालिकामा हरेक विकासका काम गर्न सहज हुने बताए ।